काठमाडौं-कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेबसाईट ह्याक भएको छ। सोमबार राति ह्याकरहरुले वेबसाइट आफ्नो कब्जामा लिई अश्लील सामग्रीहरु राखेका थिए।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार अहिले वेबसाईट रिकभरका लागि प्रयास भईरहेको छ। ‘सोमबार कार्यालय समयसम्ममा वेबसाइटमा कुनै समस्या थिएन। तर राति समस्या देखिएको भनेर हामीलाई जानकारी आएपछि अहिले वेबसाईट बन्द गरेर रिकभरको प्रयास भईरहेको छ,’ उनले भने।
कालीमाटी तरकारी बजारको जनशक्तिले वेबसाइट रिकभर गर्न नसकेपछि आइटी विज्ञ बोलाएर प्रयास गरिरहेको पनि उनले बताए।
वेबसाइट ह्याक भएपछि तरकारी तथा फलफूलको दैनिक मूल्य सूचीलगायतका विवरण हेर्न नमिल्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।