काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सञ्चालक तथा व्यवस्थापन तहका कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। मर्चेन्टका सञ्चालक तथा उच्च व्यवस्थापनविरुद्ध भ्रष्टाचारको उजुरी परेपछि अख्तियारले हाजिर हुन सार्वजनिक सूचना जारी गरेको हो।
अख्तियारले १२ जनालाई अनुसन्धानका लागि बोलाएको हो। अख्तियारले साविक रोयल मर्चेन्टका कर्मचारी सहायक महाप्रबन्धक प्रदीपबहादुर कर्मचार्यलाई सार्वजनिक बिदा र बाटोको म्यादबाहेक ७ दिनभित्र अनुसन्धान तथा मूल्याङ्कन महाशाखामा सम्पर्क राख्न अनुरोध गरेको छ।
त्यस्तै सर्वसाधारण शेयरधनी समूहका सञ्चालक सदस्य भरतकाजी श्रेष्ठ, सहायक महाप्रवन्धक रामचन्द्र बसौला, कर्मचारी देवराज ढुङ्गाना र तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सहायक अधिकृत सन्तोष धिताललाई पत्र काटेको छ।
त्यस्तै उक्त उजुरीका आधारमा अख्तियारले बादशाह फुडल्याण्ड प्रालिका सञ्चालक ऋषिस्वर थपलिया, ऋणी एनबिडिएस सुपर मार्टका सञ्चालक अनोज श्रेष्ठ, हजुरको हार्डवयर पसलका सञ्चालक ऋणी मुकुन्दप्रसाद पराजुली, साविक एपेक्स डेभलपमेन्ट बैंकका स्वतन्त्र मूल्याङ्कनकर्ता नरेश स्वाँर, राम शाह बहुमुखी व्यापार कम्पनीका सञ्चालक रामबहादुर शाह, रोशन इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर कोमानन्द अधिकारी र पञ्चकन्या सप्लायर्सका सञ्चालक नरेश दाहाललाई हाजिर हुन सूचना जारी गरिएको छ।
तत्कालीन रोयल मर्चेन्ट बेंकिङ मर्जर प्रकृयाबाट एपेक्स डेभलपमेन्ट बनेको थियो। एपेक्स डेभलपमेन्ट पनि एनसिसी बैंकमा गाभिएको थियो। मर्जरअगाडि रोयल मर्चेन्ट बैंकिङले कमसल धितोमा कर्जा प्रवाह गर्दा डेढ अर्ब रुपैयाँको घोटाला भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।