प्रधानमन्त्री बिपी कोइराला पक्का थिए, राजा महेन्द्र दुई तिहाइको निर्वाचित सरकारसँग सन्तुष्ट छैनन्। तर पनि उनीकहाँ प्रायजसो खबर पुग्ने गर्दथ्यो, राजाले केही गर्छन्। पटकपटक यस्तो खबर दिनेमा तत्कालीन उद्योग वाणिज्यमन्त्री रामनारायण मिश्र पनि थिए। मिश्रले राजाले केही गर्छन् भन्ने विषय मन्त्रिपरिषद् बैठकमै उठाएका थिए।
मन्त्रिपरिषद्मै मिश्रले यो विषय उठाएपछि भने बिपीले यसबारे भने, ‘राजाले त्यसो गर्छन् भनेर तर्सेर म बाहिर विदेशमा जाऊँ भने त उनलाई निहुँ भइहाल्छ नि। प्रधानमन्त्री नभएकाले यो सरकार मैले लिएँ भन्न सकिहाल्छ नि। चलेन संसदीय व्यवस्था भन्न सकिहाल्छ नि। र, त्यसलाई रोक्ने, प्रतिकार गर्ने पनि हामीहरुसँग कुनै उपाय छैन। त्यसो हुनाले, हामीले यसलाई बेहोर्नैंपर्छ। त्यसको लागि हामी तयार हुनुपर्छ। तर राजाले त्यसो किन गर्छन् त्यो मैले बुझेको छैन। राजाले त्यो गर्छन् भने राजाको अहितको कुरा हुन्छ।’
बिपीले आफ्नो आत्मवृतान्तमा यसबारे उल्लेख गरेका छन्।
उसो त राजाले ‘कू’ गर्नु २/३ दिनअघि अर्थमन्त्री सुवर्णशमशेर राणा कलकत्ता लागे। सुवर्णलाई छोड्न बिपी र गणेशमान सिंह एयरपोर्ट पुगेका थिए। त्यही बेला सुवर्णले बिपीलाई भनेका थिए, ‘राजाले कू त गर्छन्। तर अहिले क्वीन एलिजावेथ आउनेवाली छन्। एउटा प्रजातान्त्रिक देशको राष्ट्राध्यक्ष आउने बखतमा, ठिक्क त्यसको मुखमा आएर, कू गरेर डिक्टेटरशीप ल्याउने छैन्, त्यो गर्दैनन्। र, मार्चपछि त कू गर्छन्, गर्छन्।’
सुवर्णसँगको कुराकानीपछि बिपीलाई लाग्यो- तत्काल राजा महेन्द्रले कुनै कदम चाल्ने छैनन्।
यसबारे कार्यकर्ताहरुमाझ चिन्ता र चासो हुनु स्वाभाविक थियो। कार्यकर्ताहरु पनि राजा महेन्द्रले चाल्न सक्ने कदमबारे बिपीसँग सोधपुछ गर्थे। यसैमध्येका एक थिए, काठमाडौं नगरपालिकाका मेयर प्रयागराज सिंह सुवाल (९१)। उनले पनि बिपीसँगको एक भेटमा यही चिन्ता र चासो व्यक्त गरे। सुवाल तत्कालीन काठमाडौं नगरपालिकाका मेयर र कांग्रेसको जिल्ला सभापति पनि भएकाले प्रधानमन्त्री कोइरालासँग उनले जिज्ञासा राख्नु स्वाभाविक नै थियो। हल्लाबारे सुवालले बिपीलाई सुनाएँ, ‘बिपी बाबु, कुनै पनि बेला राजा महेन्द्रले कारबाही गर्न सक्छन् भन्ने हल्ला छ।’
तत्कालै सुवाललाई बिपीले भने, ‘प्रयागजी त्यो हो। ह्वाट क्यान वी डू? हामीसँग आर्मी छैन। हल्ला त भइरहेको छ। गतिविधि शंकास्पद नै छ। हामी सरकारमै छौं। भाग्नु पनि त भएन। वेट एण्ड सी। द्याट इज ट्रू। हाम्रोतर्फबाट प्रजातन्त्रको रक्षामा गल्ती हुनु भएन।’
त्यसको केही दिनपछि सुवाल गणेशमान सिंहको घरमा पुगे। उनलाई देख्ने बित्तिकै गणेशमान बाहिर निस्किए। र, सुवाललाई गणेशमानले भने, ‘प्रयागभाइ अब धन्दा छैन, बुझ्यौ?’
सुवालले आश्चर्यमिश्रित भावमा सोधे, ‘किन दाइ के परिवर्तन भयो र?’
गणेशमान, बिपी लगायतको राजा महेन्द्रसँग भेट भएको रहेछ। गणेशमानले प्रष्ट पारे, ‘राजा महेन्द्रसँग अब राम्रो अन्डरस्ट्यान्डिङ भयो। हिजो पार्टीमा राजाले दरबारमै बोलाएका थिए। अब अर्कै स्थिति भइसक्यो। राजा महेन्द्र शास्त्रीय राग छोड्ने, म तबला बजाउने। रामनारायण मिश्र (तत्कालीन उद्योग वाणिज्य मन्त्री) फागु गीत गाउने। उता महारानी रत्ना भान्सामा खाना पकाउने। बिपी बाबुले तरकारी काटिदिने, मसला पिस्ने। अब हाम्रो अन्डरस्ट्यान्डिङ भयो। त्यस्तो केही पनि छैन। धन्दा मान्नुपर्दैन, प्रयागभाइ। अब प्रजातन्त्र रक्षाका लागि आनन्दसँग काम गर्नुपर्छ।’
उसो भए हामी पनि रमाइलो गरौं भन्दै सबैले मंगलादेवी सिंह (गणेशमान सिंहकी श्रीमती) सँग रक्सी मागेर खाए।
तर त्यसको केही दिनपछि त राजा महेन्द्रले ‘कू’ गरिहाले।
पुस १ गते सुवाल पनि त्रिपुरेश्वरमा रहेको प्रधानमन्त्री क्वार्टरमै थिए। प्रधानमन्त्री कोइरालासँग सामान्य कुराकानी भयो। थापाथलीमा तरुण दलको कार्यक्रम सुरु हुने बेला भइसकेको थियो। उनीहरु सबै कार्यक्रम स्थलतर्फ लागे।
सुवाल भन्छन्, ‘कार्यक्रम सुरु भएको केही समयमै कार्यक्रमस्थलबाटै सेनाले सबैलाई समाएर लगे। म भने त्यहाँबाट भाग्न सफल भएँ। नगरपालिकाको गाडी त्यहीँ छोडेर पर्खालबाट हामफाल्दै साथीको गाडीमा पाटन पुगें। र, भूमिगत भएँ।’
२०१७ साल पुस १ गते भएका घटनाका अर्का साक्षी हुन्, ८० वर्षीय श्यामलाल श्रेष्ठ (उनकाे केही दिनअघि निधन भएकाे छ)। त्यसदिन थापाथलीमा तरुण दलको कार्यक्रम सुरु भइसकेको थियो। कार्यक्रममा श्रेष्ठ चियापानको बन्दोबस्तीमा खटिएका थिए। एकाएक माहौल बिग्रियो। कार्यक्रममा सेनाको संख्या बढ्यो।
‘म चियापानको बन्दोबस्तमा लागें। कार्यक्रमको उद्घाटन सुरु भइसकेको थियो। तल ओर्लिएँ। ब्रिगेडियर जनरल सुरेन्द्रबहादुर शाह र समरराज कुँवर आएर बिपीको बडिगार्डलाई बोलाए’, श्रेष्ठले सम्झिए, ‘त्यसपछि बिपीको बडिगार्डको साथमा रहेको रिभल्वर खोसे। त्यसपछि उनीहरु मञ्चमा गएर बिपी बाबुलाई स्यालुट ठोके र भने- सरकारबाट हुकुम बक्सेको छ।’
उनीहरुले बिपी, गणेशमान, कृष्णप्रसाद, सूर्यप्रसादलगायत शीर्ष नेताहरुलाई कार्यक्रम हलबाट निकालेर रसियन जिपमा राखेर गए।
शीर्ष नेतालाई सेनाले लिएर गए पनि शैलजा आचार्य, गौरी राणा, सिंहध्वज, श्रेष्ठलगायत त्यही थिए। उनीहरुले सल्लाह गरे, ‘दिउँसोको रेडियो सुन्नु पर्छ। राजा महेन्द्रले ‘कू’ गरे जस्तो छ।’
तर रेडियो कुर्नै परेन। त्यहीँ बसिरहेकै बेला महेन्द्रले ‘कू’ गरेको खबर आयो।
बेलुखीपख हरिनारायण मानन्धरको जिप लिएर मार्सलजुलुम शाक्य र भरतगोपाल शाह शाही कदमको विरुद्ध माइकिङ गर्न सडकमा निस्किए। त्यतिबेला उनीहरु समातिएनन्। उनीहरुबीच भोलिपल्ट पुस २ गते बिहान ८ बजे माइकिङ गर्न जाने सल्लाह भयो। श्रेष्ठसहित हरिनारायणको जिपमा मार्सलजुलुम, शैलजालगायत केही बसे।
सिंहध्वज खड्का आएर ‘सबै नजानुहोस्। एक जनामात्र जानुहोस्’ भनेपछि श्रेष्ठसहित केही ओर्लिए। तर शंकरलाई तानेर मार्सलजुलुमले जिपमै राखे। दुई जना गए। मार्सलजुलुम र शंकर सुन्धारा धरहरानजिकै पक्राउ परे।
८२ वर्षीय उत्तमनारायण श्रेष्ठको स्मृतिमा पनि पुस १ गतेको घटना उत्तिकै ताजा छ। श्रेष्ठ तरुण दलका सक्रिय कार्यकर्ता थिए। २०१७ साल पुस १ गते तरुण दलको कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो।
उनलाई नृत्यमा खुबै रुची थियो। टंकलाल श्रेष्ठ सांस्कृतिक कार्यक्रमको संयोजक थिए भने उत्तम त्यसको उपसंयोजक।
पुस महिना टेकेको मौसम। धुम्म कुहिरो लागेको थियो। बिहान कार्यक्रम सुरु हुनुअघि श्रेष्ठले ‘टुँडिखेलमा तरुण दलको खेलकुद समारोह हुँदैछ’ भन्दै असन, न्युरोड, इन्द्रचोकलगायत क्षेत्रमा माइकिङ गरे।
माइकिङको काम सकेपछि उनी कार्यक्रमस्थल थापाथलीमा रहेको द्रोण शमशेरको घरमा पुगे।
‘कार्यक्रममा स्वागत मन्तव्य सकिएपछि आरती भन्ने एउटा नृत्य हुन्थ्यो। आरती नृत्य सकेर हाम्रो समूहलाई ल माथि भात खान जाऊ भनेर पठाए’, श्रेष्ठ सुनाउँछन्, ‘भात खान माथि मात्र गएका थियौं, तल त चहलपहल बाक्लो हुन थाल्यो। भात नै नखाएर हामी तल आयौं। तल त सेनाले बिपी, गणेशमान, सूर्यप्रसाद लगायत अन्य मन्त्रीहरूलाई जीपमा राख्दैं थिए। सेनाहरू बन्दुक तेर्सो पारेर उभिएका। बिपीलाई जीपको पछाडि सीटमा राखिएको थियो। सेनाहरू अगाडिको सिटमा बसेका थिए। बिपीलाई किन पछाडि राख्यो भन्ने मलाईं शंका पनि लागेको थियो। सँगै रहेका नुतनबहादुर थपलियालाई 'दाइ के भएको?' भनेर सोध्दा राजाले ‘कू’ गरेको हो भन्नुभयो।’
त्यस समय आफूलाई ‘कू’ भनेको थाहै नभएको श्रेष्ठ बताउँछन्।
बिपीलगायतलाई जीपमा राखेर लैजाने बेला कमल चित्रकारले, ‘वीर विश्वेश्वर जिन्दावाद, इनक्लाब जिन्दावाद’ भन्दै नारा लगाए। चित्रकार पनि त्यहीँ समातिए।
श्रेष्ठ सम्झन्छन्, ‘दरबारको ठूलो ढोका थियो। सबै यताउता भागदौड गर्दै थिए। नुतन थपलिया दाइले यो ढोकाभित्र कसैलाई आउन नदेऊ भन्दै मलाई ढोकामै बस्न भन्नुभयो। त्यहीबेला इन्स्पेक्टर नारायण सिंह आए। त्यतिबेलाका नामी इन्स्पेक्टर। उनले तँ हट् भन्दै मेरो हात फालिदिए। त्यताबाट केही मन्त्रीहरू पर्खाल चढेर भागे। म पनि त्यहाँबाट निस्किएँ।’
त्यस्तो परिवेशमा पनि तरुण दलका सदस्यहरूमा कुनै विद्रोह आउन नसकेको श्रेष्ठ बताउँछन्।
राजा महेन्द्रको 'कू'बारे बिपीले आफ्नो आत्मवृन्तान्तमा भनेका छन् :
'जे होस् त्यस दिन करिब १० बजेसम्म एकदम धुम्म कुहिरो थियो। मिटिङमा मान्छेहरु पनि राम्रोसँग आइसकेका थिएनन्, डेलिगेटहरु आउँदा आउँदै ढिलो भएर करिब १२ बजेतिर त्यो मिटिङ सुरु भयो। मैले खाएको थिइनँ। त्यो मिटिङ सकिएपछि खान जाउँला भन्ने सोचेको थिएँ। मिटिङ बडो राम्रो थियो। चारैतिरबाट डेलिगेटहरु आएका थिए। मैले उद्घाटन गरें। मैले उद्घाटन गरेको भाषण पर्चा हेर्नुपर्छ। मेरो त्यस बेलाको चिन्तन र दृष्टिकोण बुझ्नको लागि। मलाई लाग्छ, त्यो धेरै राम्रो भएको थियो। मैले बोलेपछि कसले बोल्यो कुन्नि। तर श्रीभद्र शर्मा बोलिरहेका थिए, जब सेनाले घेरिहाल्यो। हामीहरुले बनाएको राजाको आग्रहमा सी.जी.एस. थियो पछि प्रधानसेनापति हुने दोस्रो व्यक्ति सुरेन्द्रबहादुर शाह र दरबारको समरराज कुँवर थिए, ओठ पनि कलेटी परिसकेको।'
बिपी भन्छन्- 'उनीहरु मिलिटरी पोशाकमा आए। अनि मेरो बडीगार्ड थियो सेनाको क्याप्टेन। त्यसको रिभल्भर लियो। ऊ उभ्भिएको थियो टाढा, योसँग मागेर लिएको थियो। तिनीहरु त्यहाँ आएको देख्नेबित्तिकै सूर्यबाबुले भन्नुभयो– 'सकियो।'
अनि उहाँले भन्नुभयो– 'देख्नु भएन? तपाईंको गार्डको खोस्यो नि पिस्टल।'
सूर्यप्रसाद त्यसको संरचनाकार हुन सक्तछन्। यी सब कुराहरु मभन्दा बेसी तुलसी गिरीलाई थाहा हुन्छ। विश्वबन्धु त उसको सहायक जस्तो थियो। मतियारजस्तो थियो।
त्यहाँ सेना धड्–धड् आईहाल्यो र मञ्चमा आयो। अधिवेशन दरबारको प्रांगणमा चलिरहेको थियो। दरबारको पिँढीसँगै टाँसिईकन हाम्रो मञ्च बनेको थियो। दरबार पछिल्तिर थियो। मञ्चमा आउन दरबारको पिँढीमा चढेर आउनुपर्ने। तिनीहरु पछिल्तिरबाट आए। सुरेन्द्रबहादुर शाह अलि पछि नै उभ्भियो।
समरराज अगाडि आयो। समरराज निर्देशन दिइरहेको थियो। अब के गर्ने, अब के गर्ने भनेर उसँग सोध्दछ– सुरेन्द्रबहादुर शाह। अनि ऊ भन्छ– 'उहाँलाई।'
सुरेन्द्रबहादुर शाहले आएर भन्यो, 'महाराजाधिराजबाट हुकूम भएको छ, हिँडनुपर्यो।'
मैले भनें, 'हुन्छ ।'
मैले सभातिर फर्केर भनें, 'तपाईंहरु सभा चालू राख्नुहोला। म जान थालें। महाराजाधिराजले बोलाए।'
म त्यति भनेर जान लागेको थिएँ। अनि, समरराजले 'उहाँलाई पनि,...उहाँलाई पनि,...' भनेर मञ्चमा बसेका मानिसहरुलाई ईशारा गर्यो। सबैलाई आएर भन्यो।
औपचारिक रुपमा राजदरबार संलग्न भएन, किनभने मलाईं हिँड्नुस् भन्ने सी.जी.एस थियो। तर सारा आडम्बरको २४ घण्टासम्म सम्पूर्ण देश दरबारका शाही रक्षकहरुको नियन्त्रणमा पर्न गयो। किनभने, भोलिपल्ट मात्रै, जहाँ मलाई थुनेर राखेको थियो, शाही अंगरक्षक सेना फिर्ता भएको छ।
हामीलाई त्यहाँबाट त्यसरी लग्न खोज्नासाथ त एकदम अशान्ति भइहाल्यो। मलाई एउटा फिक्री के भयो भने जुन किसिमबाट मलाई लिएर गए, जुन एउटा निष्ठुर आकृति त्यहाँ थियो, त्यसको गम्भीर दुष्परिणाम हुनसक्थ्यो। कारबाईमा एउटा निष्ठुरता अभिव्यक्त भइरहेको थियो। त्यस्तोमा, त्यहाँ सूर्यबाबु उचालिरहनु भएको छ, हातको ईशाराले। म के देखिरहेको छु भने त्यहाँ तर उनीहरुको संहार हुनसक्थ्यो मिलिटरीद्वारा।
ब्रेनगन लिएर मिलिटरी ट्रकमा थियो। स्टेगन र राईफल लिएर मिटिङमा पुगिसकेको थियो। तिनीहरुले अलिकति पनि केही गरेको भए मलाई त मारी नै दिन्थे। भन्ने थिए कि भीडले मलाईं समात्न थालेको हुनाले। मैले भनें– 'तपाईंहरु शान्त हुनुस् र तपाईंहरु मिटिंङ चलाइराख्नुस्। मलाईं किन हो राजाले बोलाएको, मलाईं थाहा छैन।'
मैले त्यसो भनें तर मिटिंग त्यसपछि चलेन। मलाईं लाग्दछ, हामीलाई समात्न त्यहाँ करिब ३ सय जवानहरु आएका थिए।
त्यहाँबाट सिंहदरबार जाँदा सडकको किनारामा पाईला–पाईलामा शाही अंगरक्षक सेना बसेको थियो। सिंहदरबार भित्र, हामीहरु गेटभित्र पस्यौं। एउटा चुत्रबहादुरलाई देखें। दानगम्भीर सिंह रायमाझी थियो कि थिएन, म भन्न सक्तिनँ। अरु–अरु अफिसरहरुलाई पनि मैले देखेँ सिंहदरबार पुगुञ्जेलमा र सिंहदरबारको गेटमा र भित्र, जहाँ मलाईं राखें।
लगेर बिलियर्ड रुम थियो, त्यहाँ राख्यो हामी सबैलाई। आधा घण्टापछि सबैलाई त्यहाँबाट लग्यो, ममात्रै त्यहाँ बसें। त्यो बिलियर्ड रुम ठूलो छ। त्यसका ढोकाहरु, झ्यालहरु, सारा बन्द गरी दिएर एउटामात्र ढोका खुल्ला राखी दिएको थियो। त्यहाँ दुइटा चपटे बसेका थिए। त्यस दिन त्यो अव्यवस्थित थियो। त्यो षड्यन्त्र राजाले आफ्नै छाती भित्रमा राखेका थिए र कसैलाई थाहा हुन दिएका थिएनन्। थाहा भए पनि योजना पहिलेदेखि नै छलफल त गरे होलान्, तर त्यो कार्य कुन दिन गर्ने कसैलाई पनि भनेका थिएनन् भन्ने मलाई लाग्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।