काठमाडौं- पूर्वाधार विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली बाहिरिएका छन्। बैंकको सञ्चालक समितिले ज्ञवालीलाई उनको कार्यकाल सकिएको भन्दै बिदाई गरेको हो। ज्ञवाली २०७५ मंसिरमा नियुक्त भएका थिए।
उनलाई दुई वर्षको लागि नियुक्त गरिएको भन्दै २०७७ मंसिर २८ गतेदेखि कार्यकाल सकिएको सञ्चालक समितिले जनाएको छ।
ज्ञवाली बाहिरिएसँगै बैंकको सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डलेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। बैंकिङ क्षेत्रमा लामो अनुभव भएका ज्ञवाली सबैभन्दा ठूलो बैंक भएको हिसाबले नेपाल इन्फ्रास्ट्रक्चर भित्रिएका थिए। तर उनलाई तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले खासै रुचाएका थिएनन्।
ज्ञवालीले बैंकको प्राथमिक सेयर निष्काशनको प्रकृयालाई अन्तिम चरणमा पुर्याएका छन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउने बित्तिकै ८ अर्ब रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्ने अन्तिम अवस्थामा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली भने बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।