एजेन्सी–अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या गरिएको हो। पत्रकार मलाला माएबन्दको बिहीबार जलालावादमा हत्या गरिएको हो। काममा गइरहेका बेला बन्दुकधारीले उनी चढेको गाडीमाथि गोली प्रहार गरेका थिए। आक्रमणमा उनका चालक मोहम्मद ताहिर पनि मारिएका छन्। हालसम्म आक्रमणको कसैले पनि जिम्मा लिएका छैनन्।
माएबन्द एनिकास टीभी तथा रेडियोको पत्रकार थिइन्। प्रान्तीय गभर्नरका प्रवक्ताले गोली हानेपछि आक्रमणकारी भाग्न सफल भएको बताए।
माएबन्द नागरिक समाजकी सक्रिय कार्यकर्ता थिइन्। उनले अफगानिस्तानमा महिला पत्रकारमाथि भएका चुनौतीका बारेमा खुलेर कुरा गर्ने गरेकी थिइन्। उनकी आमाको पनि ५ वर्षअघि बन्दुकधारीले हत्या गरेका थिए।
अफगानिस्तानस्थित बेलायती राजदूत एलिसन ब्ल्याकले पत्रकार माएबन्द हत्याको निन्दा गरेका छन्। उनले प्रेस स्वतन्त्रता कायम राख्न एक जुट हुन पनि आव्हान गरेका छन्।
हालै नेटो र युरोपियन युनियनले अफगानिस्तानमा बढेका व्यक्ति हत्याको निन्दा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।