लन्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ भएको बताएका छन्। यसै हप्ता प्रधानमन्त्रीको ब्रसेल्स भ्रमणको पूर्वसन्ध्यामा उनले यस्तो धारणा राखेका हुन्।
ईयूसँगको व्यापार सम्झौताका लागि भएको लामो वार्तामा सफलताको खोजी गर्न प्रधानमन्त्री जोनसन यसै साता ब्रसेल्स भ्रमण गर्दैछन्।
‘व्यापार वार्ताले सफलता पाओस् भन्नेमा हामी आशावादी हुनुपर्छ।’ जोनसनले स्काई न्यूजसँगको कुराकानीमा भने।
उनले थपे, ‘सत्य कुरा यो हो कि तत्कालका लागि व्यापार सम्झौता ‘निकै कठिन’ छ।’
जोनसनले भने, ‘हामी अर्को दुई दिनमा कहाँ पुग्छौं भनेर हेर्नेछौं, तर मलाई लाग्छ कि बेलायत सरकार राजनीतिक वा अन्य कुनै पनि तहमा छलफललाई अघि बढाउन इच्छुक छ।’
प्रधानमन्त्री जोनसन बिहीबार ब्रसेल्स जाने सम्भावना रहेको बिबिसीले जनाएको छ।
ब्रेक्जिटपछिको व्यापार वार्तामा गतिरोध अन्त्य गर्नका लागि जोनसन र युरोपियन आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले ४८ घण्टाभित्र दोस्रो पटक सोमबार पनि टेलिफोन संवाद गरेका थिए।
यसैबीच यूरोपेली संघ (इयूका) प्रमुख वार्ताकार मिसेल बार्नियरले बेलायतसँगको व्यापार वार्तामा ईयू एकताबद्ध हुने र कुनै अनावश्यक त्याग गर्न नसकिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।