वासिंटन डिसी- अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले रक्षामन्त्रीको जिम्मेवारी अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई दिने भएका छन्। ६७ वर्षीय अस्टिन रक्षा मन्त्रालय सम्हाल्ने पहिलो अफ्रिकी मूलका अमेरिकी हुनेछन्। तर सैन्य सेवाबाट अवकाश पाएको ७ वर्षभन्दा कम समय भएकाले उनको नियुक्तिलाई कंग्रेसले अनुमोदन गर्नुपर्ने व्यवस्था छ।
नेसनल सेक्युरिटी टिमका वरिष्ठ सदस्य चयन भएको २ सातापछि बाइडेनले रक्षामन्त्रीमा अस्टिनलाई चयन गरेका हुन्। अस्टिनले ओबामा प्रशासनमा अमेरिकी मध्यकमान्डको नेतृत्व गरेका थिए।
तर, यसबारेमा बाइडेन र अस्टिनले कुनै प्रतिक्रिया दिएका छैनन्। यसअघि बाइडेनले मिसेल फ्लुरनोयलाई रक्षामन्त्रीमा चयन गर्न लागेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। बाइडेनले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।