नयाँदिल्ली- भारतमा आन्दोलनरत किसानहरुले आन्दोलनलाई राजनीतिक रुपमा प्रयोग नगर्न आह्वान गरेका छन्। आफूहरूको आन्दोलनलाई समर्थन गर्ने २४ राजनीतिक दलहरुलाई किसानहरुले यस्तो आग्रह गरेका हुन्।
सोमबार पत्रकार सम्मेलनमा बोल्दै किसान युनियन क्रान्तिकारीका अध्यक्ष दर्शन पालले आन्दोलनको समर्थन गरेकोमा सबै दलहरुलाई धन्यवाद दिँदै झण्डा र ब्यानर घरमै छोडेर आउन आग्रह गरे। ‘भारत बन्दको समर्थनमा सडकमा आउँदा आफ्नो झण्डा र ब्यानर घरमै छोडेर आउनु होला, किसानको साथ मात्र दिनु होला,’ उनले भने।
किसानहरुको माग सही भएको ठहर गर्दै विपक्षी कांग्रेस र वामपन्थीलगायतका क्षेत्रीय दलहरुले समर्थन गरेका छन्। किसानहरुको मागमा डीएमके, टीआरएस, समाजवादी पार्टी, बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनता दल, शिवसेना, एनसीपी, अकाली दल, आपलगायतले ‘भारत बन्द’ को समर्थन गरेका छन्।
केन्द्रीय गृहमन्त्री अमित शाहले किसानहरुको आन्दोलनलाई शान्त राख्न सबै राज्यलाई निर्देशन दिएका छन्। किसानहरुको आन्दोलनमा कोभिड–१९ को मापदण्ड पालना गराउन पनि उनले आग्रह गरेका छन्। किसान नेताहरुका अनुसार बिहान ११ बजेदेखि ३ बजेसम्म बन्द हुने छ। अत्यावश्यकीय सेवामा रोक नलगाइएको उनीहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।