नयाँ दिल्ली- भारतमा किसान आन्दाेलनकाे समर्थनमा प्रतिपक्ष दलका नेता राहुल गान्धीले भाेलीकाे बन्द किसान क्रान्तिकाे समर्थनमा शान्तिपूर्ण भारत बन्द भएको बताएका छन्। किसान आन्दाेलनमा कांग्रेसकाे समर्थन रहेकाे भन्दै गान्धीले यसले पर्ने असुविधाकाे जिम्मेवार नरेन्द्र माेदी सरकार हुने बताए।
उनले देशकाे अन्नदातासँग अत्याचार भइरहेकाे टिप्पणी गरे। उनले कृषि कानुनसमेत फिर्ता लिन माग गरेका छन्। आठ डिसेम्बरमा किसानले भारत बन्दकाे घाेषणा गरेका छन्। यही बन्दलाई ध्यानमा राख्दै सरकारले सबै राज्यलाई कडा सुरक्षा अवलम्वन गर्न निर्देशन जारी गरेकाे छ।
काेभिड-१९ का स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न/गराउन पनि सरकारले आग्रह गरेको छ।
केजरीवाल पुगे समर्थनमा
किसानहरुकाे आन्दाेलनलाई समर्थन गर्न दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सिन्धु बाेर्डरमा पुगेका छन्। तीन कृषि कानुनकाे विराेधमा ११ दिनदेखि आन्दाेलनमा रहेका किसानसँग भेट गर्न उनी बाेर्डर पुगेका हुन्। उपमुख्यमन्त्री मनिष सिसाेदिया पनि सँगै पुगेका थिए।
केजरीवालले किसानकाे आन्दाेलन र भारत बन्दमा आम आदमी पार्टीकाे पूर्ण समर्थन रहेकोसमेत जनाए। उनले किसानका सबै माग पुरा हुनुपर्ने भन्दै किसानकाे सेवामा आफू आएकाे बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।