नयाँ दिल्ली (भारत)- भारतमा किसान आन्दोलनमा सहभागी हुन लागेका उत्तर प्रदेशका पूर्व मूख्यमन्त्री एवं समाजवादी पार्टीका नेता अखिलेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।
उत्तर प्रदेशको कन्नौजमा हुन लागेको ‘किसान यात्रा’मा सहगाभी हुन सोमबार घरबाट निस्केका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यादवलाई कन्नौज जानबाट रोक्नका लागि लखनउस्थित उनको घरबाहिर प्रहरीको बाक्लो उपस्थिति थियो। प्रहरीले बाटोसमेत रोकेको थियो।
घरबाहिर निस्कँदा प्रहरीले रोकेपछि उनी आफ्ना पार्टीका कार्यकर्ताका साथमा सडकमै धर्ना बसेका थिए। धर्नामा बसेका अखिलेशका साथै समाजवादी पार्टीका अन्य केही कार्यकर्तालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले जारी गरेको तीन कृषी कानुनको विरोधमा किसानहरु नयाँदिल्लीमा धर्ना दिइरहेका छन्। ११ दिनदेखि चलेको यो आन्दोलनका विषयमा ५ पटकसम्म वार्ता भएपनि हालसम्म सहमती हुन सकेको छैन।
केन्द्र सरकार कानुन फिर्ता नलिने पक्षमा छ भने किसानहरु फिर्ता गरेर मात्र आन्दोलन रोक्ने अडानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।