काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन्। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
कोभिड-१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्यसम्पादन गरी क्षमता प्रदर्शन गर्न आग्रह गर्दै उनले आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा समयसीमा निर्धारण गरी गर्न निर्देशन दिए।
अर्थ मन्त्रालयलगायत विभिन्न मन्त्रालयको पूँजीगत गर्न बढाउनका लागि थप पहल गर्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले अन्तर-मन्त्रालय समन्वयमा पनि उनले जोड दिएका छन्।
उनले पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनौट गर्ने प्रवृत्तिमा क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा सम्पन्न गर्नका लागि सहजीकरण गर्न पनि निर्देशन दिए।
अर्थमन्त्री पौडेलले आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउने, समयमै बेरुजु फर्छ्यौट गर्ने, लक्ष्य अनुरुप बजेट कार्यान्वयन गर्ने र कार्य सम्पादनका लागि तोकिएका सूचकहरुको लक्ष्य समयमै हासिल गर्ने गरी चालु आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
अर्थमन्त्री पौडेलले खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउँदै राजस्व परिचालनमा जोड दिए।
बैठकमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक बजेटको खर्च स्थिति, राजस्व परिचालनको अवस्था, विकास सहायता परिचालन, शोधभर्नाको अवस्था, बेरुजु फछर्यौटको स्थिति तथा प्रथम चौमासिकको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।