एजेन्सी–इरानले युरेनियमको उत्पादन बढाउने तथा संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रमा अनुगमनमा रोक लगाउनेसम्बन्धी कानुन पारित गरेको छ।
इरानको संसदले नयाँ कानुन पारित गरेसँगै उसले युरेनियमको उत्पादन थप बिस्तार गर्ने बाटो खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अबको दुई महिनाभित्र आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा नभए युरेनियमको उत्पादन २० प्रतिशतसम्म बिस्तार गर्ने इरानले जनाएको छ। सन् २०१५ मा भएको सम्झौता अनुसार इरानको युरेनियम क्षमता ३.६७ प्रतिशतमा सीमित हुनु पर्ने थियो।
इरानका राष्ट्रपति हसन रुहानीले भने आफू सो कानुनको विपक्षमा रहेको बताएका छन्।
शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएपछि नयाँ कानुन ल्याइएको हो। उनको हत्यामा इजरायलको हात रहेको इरानको आरोप छ । तर इजरायलले यसबारे सार्वजनिक रुपमा केही बताएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।