एजेन्सी–सिंगापुरका नागरिकले जनावरलाई नमारीकनै मासु खान पाउने भएका छन्। सिंगापुर सरकारले अमेरिकी कम्पनी ‘जस्ट इट’ लाई ल्याबमा उत्पादन गरिएका कुखुराको मासु बिक्री गर्न अनुमति दिएसँगै त्यस्तो अवस्था आउने भएको हो। त्यस्तो मासुलाई ‘क्लिन मिट’ भनिएको छ। क्लिन मिट बिक्रीको अनुमति दिने सिंगापुर पहिलो मुलुक भएको छ।
‘इट जस्ट’ कम्पनीले ल्याबमा कुखुराको मासु तयार गरेर बिक्री गर्ने तयारी गरेको छ। सुरुमा यो मासु टुक्रा रुपमा बिक्री हुनेछ । तर कहिलेबाट बजारमा उपलब्ध हुन्छ भन्ने विषयमा कम्पनीले बताएको छैन। स्वास्थ्य, पर्यावरण र जनावरको संरक्षण चिन्ताका कारण जनावरको मासुको विकल्पको माग बढेको छ।
फाइनान्सियल सर्भिस कम्पनी बार्कलीका अनुसार वैकल्पिक मासुको बजार आगामी दशकमा १४० अर्ब डलरको हुनेछ । अर्थात् १.४ खर्ब डलरको मासु उद्योगको १० प्रतिशत हिस्सा हुनेछ। सुपरमार्केट र रेष्टुँराहरुमा यस्ता मासुको माग बढ्दै गएको छ।
‘इट जस्ट’ ले जनावरको मांसपेशीको कोशिकाबाट ल्याबमा तयार पार्नेछ। इजरायलस्थित फ्युचर मिट टेक्नोलोजी र बिल गेट्सको कम्पनी मेमफिस मिट्स पनि ल्याबमा तयार पारिएको मासुलाई बजारमा ल्याउने प्रयास गरिरहेका छन्। ती कम्पनीहरुका अनुसार यस्तो मासु सस्तो पर्नुका साथै स्वादमा पनि अब्बल हुनेछ । यस्तै, सिंगापुरको कम्पनी सिओक मिट्सले पनि ल्याबमा जनावरको मासु बनाइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।