जेलको छानामा प्रदर्शन गर्दै कैदी। तस्बिर : रोयटर्स
कोलोम्बो- श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ। दङ्गामा मारिएका सबै व्यक्ति कैदी नै भएका सिन्हवाले जनाएको छ।
दङ्गामा परी अन्य ४५ जना घाइते भएका छन्। घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका छन्। कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए।
राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका थिए।
बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको भडपमा परी कम्तीमा ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ। श्रीलङ्काको जेलहरूमा अहिलेसम्म करिब १ हजार जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
कारागारमा रहेका बन्दीहरुले शुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहनाले बताएका छन्।
दङ्गामा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बताए। कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको पनि रोहनाको भनाइ छ।
श्रीलङ्कामा कोरोना शुरु भएयता २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको र यस संक्रमणबाट ११६ जनाको मृत्यु भइसकेको छ। -सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।