स्याङ्जा–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छन्। आईतबार वालिङ–१२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गर्दै अर्यालले यस्तो बताएकी हुन्। मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठ्ने गरेको भन्दै अहिले ओली सरकारको विकल्प नरहेको र यसमा दुविधा नहुन आग्रह गरिन्।
वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने भन्दै उनले ओली सरकारले नै देशलाई परिर्वतन गर्ने दिशामा अगाडि बढेको दाबी गरिन्। कम्युनिष्ट पार्टी एक गतिशील पार्टी भएकाले छलफल र विवाद स्वाभाविक भएको उनको भनाइ थियो।
‘पार्टीभित्र बहस घनिभूत रुपमा चल्छ तर, पार्टी फुट्ने कुरा हुँदैन् । दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ। बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै संभावना छैन्’, उनले भनिन्। तातोपानीले घर नजल्ने भन्दै मन्त्री अर्यालले कम्युनिष्ट पार्टी एक ढिक्का रहने दावी गरिन्। ‘जनताको चाहनाले दुई ठूला पार्टी एक भएकाले जनता पार्टी फुटोस् भन्ने चाहँदैनन्’, उनले भनिन्, ‘जनता कम्युनिष्ट सरकारको विकास अनुभूत गरिरहेका छन् । यही सरकारको निरन्तरता जनताको पनि चाहना हो।’
४३ करोडको खानेपानी योजनाअन्तर्गत वालिङ नगरपालिकाका विभिन्न वडाहरुमा गरी ९ खानेपानी उप–योजनाहरु सञ्चालन हुनेछन् । त्यही योजना अन्तर्गत मन्त्री अर्यालले आईतबार छाप कौलाशे लिफ्टिङ उपयोजना, सिर्सेकोट लिफ्टिङ उपयोजना, डुडखोला खानेपानी उपयोजना र अधेरीखोला लंकाकोट अर्लुङ भोर्ले उपखानेपानी योजनाको शिलान्यास गरेकी हुन्। यी ४ योजनाबाहेक वालिङ १, त्रियासीमा खानेपानी उपयोजना निर्माण सुरु भएको छ भने, पेखु, पाठखोला, मिर्दि, रामबाच्छा खानेपानी उपयोजना शिलान्यास हुँन बाँकी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।