धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६.२९ प्रतिशत बजेट खर्च गरेकभो छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधवार धनगढीमा पत्रकार सम्मेलन गरी खर्च तथा आम्दानी सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
प्रदेश सरकारले पहिलो चौमासिकमा कुल बजेटको ६.२९ प्रतिशत अर्थात् २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ। चालू आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकसम्मको बजेट खर्च र राजस्व संकलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले गत वर्षभन्दा १.७६ प्रतिशतले खर्च वृद्धि भएको बताए।
गत वर्ष पहिलो चौमासिकमा कुल बजेटको ४.५३ प्रतिशत मात्रै खर्च भएकोमा यस वर्ष चालु तर्फ १ अर्ब १० करोड ४७ लाख ५० हजार अर्थात् ६ दशमलव ६५ प्रतिशत र पूँजीगत तर्फ ९९ करोड ३८ लाख ७६ हजार अर्थात् ५.९३ प्रतिशत खर्च भएको मन्त्री बोहराले बताए।
गत आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तर्फ ५.४० प्रतिशत र पूँजीगत तर्फ ३.५२ प्रतिशत मात्रै खर्च भएको थियो। प्रदेश अर्थमन्त्री बोहराले यस वर्ष चालु तर्फ १ दशमलव २५ र पूँजीगत तर्फ २.४१ प्रतिशतले खर्च बढी भएको बताए।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार बराबरको बजेट विनियोजन गरेको थियो। मन्त्री बोहोराले यस वर्ष ९० प्रतिशत भन्दा बढी बजेट खर्च हुने दाबी गरे।
यस्तै राजस्वतर्फ पनि गतवर्ष भन्दा प्रगति भएको मन्त्री बोहोराले बताए। चालु आर्थिक वर्षमा ७६ करोड ७० लाख ३० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पहिलो चौमासिकमै ४५.९३ प्रतिशत अर्थात् ३१ करोड ९ लाख ६६ हजार राजस्व संकलन गरेको मन्त्री बोहराले बताए।
प्रदेश सरकारले गत आर्थिक वर्षको पहिलो चौमासिकमा ३२.१२ प्रतिशत राजस्व संकलन गरेको थियो। तर यसवर्ष गत वर्षको पहिलो चौमासिकको तुलनामा ६४.४५ प्रतिशतले बढी राजस्व संकलन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।