एजेन्सी–अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका महत्त्वपूर्ण ६ पदमा मनोनित गरेका छन्। आफ्नो समूहको घोषणा गर्दै बाइडेनले भनेका छन्, ‘विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको छ।’
अनुमोदन भएमा एभ्रिल हेन्स राष्ट्रिय गुप्तचर संस्थाको पहिलो महिला प्रमुख बन्ने छिन् भने अलेजान्द्रो मेयोरकासले होमल्याण्ड सेक्युरिटी मन्त्रालय सम्हाल्नेछन्। उनी यस पदमा पुग्ने पहिलो ल्याटिन मूलका व्यक्ति हुनेछन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएसँगै बाइडनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्ने छन्।
तर ट्रम्पले चुनावी हार स्वीकार गरिसकेका छैनन् र नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको अप्रमाणित दाबी दोहोर्याइ रहेका छन्।
ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय खतरा र विकासक्रमका बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी पाउने जनाएको छ।
राष्ट्रपति निर्वाचित जो बाइडनले आफ्नो मन्त्रिपरिषद्मा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै उक्त समूहले अमेरिकालाई पुनः एकताबद्ध गराउने बताए।
गृह राज्य डेलावेरमा बोल्दै बाइडनले अमेरिकाका विरोधीहरूसँग भिड्ने तर सहयोगीहरूलाई अस्वीकार नगर्ने उल्लेख गरे।
आफ्नो समूह अनावश्यक सैनिक द्वन्द्वमा नफस्ने उनको भनाइ छ।
तर समूहले अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदारसँग सहकार्यमा लगाउने बाइडनले बताए।
‘यो समूहले अमेरिका र हाम्रा जनतालाई सुरक्षित राख्ने छ,’ उनले भने, ‘यो समूहले विश्वको नेतृत्व गर्न अमेरिका फर्किएको प्रतिबिम्बित गर्छ।’
को–को परे बाइडनको रोजाइमा?
बाइडेनले अमेरिकी तल्लो सदनमा रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेकोमा पनि जोड दिएका छन्।
बाइडनले विदेशमन्त्रीको जिम्मेवारी दिने गरी मनोनित गरेका टोनी ब्लिङ्केनले अमेरिका विश्व मञ्चमा विश्वासका साथ र मानवीय दुवै किसिमले प्रस्तुत हुनुपर्ने आवश्यकता रहेको बताएका छन्।
अमेरिकासँग अन्य देशहरूलाई साथमा ल्याउने बेजोड क्षमता रहेको तर उनीहरूको पनि सहकार्य आवश्यक हुने उनको भनाइ छ।
अर्थशास्त्री ज्यानेट येलेनले अर्थमन्त्रीको भूमिका पाउने बताइएको छ।
यी सबै मनोनयन सिनेटको सुनुवाइ समितिबाट अनुमोदित हुनुपर्नेछ।
साथै बाइडनले जलवायु परिवर्तनको सङ्कटसँग जुझ्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।