काठमाडौं- आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०७६/०७७ मा धेरै कर तिर्ने करदतालाई सम्मान गरेको छ। विभागले विभिन्न क्षेत्रमा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको हो। मंसिर १ गते कर दिवस मनाएर करदातालाई सम्मान गर्ने प्रचलन रहेकोमा यसपटक तिहारको बिदा परेकाले आइतबार सम्मान गरिएको हो।
विभागका अनुसार व्यक्तिगत आयकरतर्फ विजयबहादुर शाह सम्मानित भएका छन्। लामो समयसम्म सिद्धार्थ राणाले यो सम्मान पाउँदै आएकोमा यसपटक शाले राणालाई उछिनेका हुन्। जाउलाखेल, हिमालयनलगायतका डिस्टिलरीका सञ्चालक उनी गत आर्थिक वर्षमा सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्नेमा पहिलो नम्बरमा परेका हुन्।
विभागका अनुसार सबैभन्दा धेरै कर तिर्ने करदाताको सम्मान सूर्य नेपालले पाएको छ। निर्यातकर्तामध्ये सबैभन्दा धेरै आयकर डाबर नेपालले तिरेको छ। यस्तै सबैभन्दा धेरै आयकर तिर्ने विशेष उद्योगमा हिमाल वापर लिमिटेड परेको छ।
कृषि एवं पशुपंक्षीजन्य उद्योगतर्फको सम्मान अन्नपूर्ण एग्रो इन्डस्ट्रिजले पाएको छ। सहकारी र लघुवित्ततर्फ छिमेक लघुवित्तले सम्मान पाएको छ। बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर नबिल बैंकले तिरेको छ। यो बैंकलाई कर दिवसमा सम्मान गरिएको छ।
यस्तै बीमा व्यवसायतर्फ नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले यो सम्मान पाएको छ। रेमिट्यान्सतर्फ आइएमई लिमिटेडले धेरै कर तिरेर सम्मान पाएको छ। शिक्षा सेवातर्फ मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप नेपालले यो सम्मान पाएको छ। व्यापारतर्फ अग्नि इन्कर्पोरेटेडले यो सम्मान पाएको छ।
पर्यटन व्यवसायमा सबैभन्दा धेरै आयकर तिर्ने करदातामा तारागाउँ रिजेन्सी होटल परेको छ। मध्यमस्तरीय करदाता कार्यालयको क्षेत्राधीकारभित्रबाट कामना सेवा विकास बैंकले धेरै कर तिरेर सम्मान पाएको छ। आन्तरिक राजस्व कार्यालयको क्षेत्राधीकारभित्रबाट सबैभन्दा धेरै आयकर तिर्नेमा भिएफ सर्भिसेज सम्मानित भएको छ।
मूल्य अभिवृद्धि करतर्फ उत्कृष्ट कर सहभागिता भएको करदातामध्येबाट घोराही सिमेन्ट इन्डस्ट्रिजले यो सम्मान पाएको छ। गत आर्थिक वर्षमा सबैभन्दा धेरै भ्याट यही कम्पनीले तिरेको थियो।
यस्तो छ पूर्ण विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।