एजेन्सी–अमेरिकाको क्यालिफोर्नियामा कोरोना संक्रमण रोक्न कर्फ्यु जारी गरिएको छ। तीव्र गतिमा संक्रमण बढ्दै गएपछि कर्फ्यु जारी गरिएको हो। शनिबारदेखि रातिको समयमा कर्फ्यु लागू गरिएको क्यालिफोर्निया सरकारले जनाएको छ।
गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै संक्रमण देखिएको थियो। तर अहिले त्योभन्दा पनि धेरै संक्रमण दैनिक रुपमा देखिन लागेकोपछि कर्फ्यु लगाईएको हो।
अमेरिकाभर शनिबार कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या दुई हजारभन्दा बढी थियो। गएको मे यता पहिलो पटक एकै दिन दुई हजारभन्दा धेरैको ज्यान गएको हो।
विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड २० लाखभन्दा धेरै पुगेको छ। अहिलेसम्म दुई लाख ५५ हजारभन्दा बढीको ज्यान गएको छ।
अधिकांश राज्यहरुमा संक्रमण बढ्दो क्रममा छ । विभिन्न राज्यहरुले मास्क अनिवार्य गरेका छन्।
क्यालिफोर्नियामा गएको हप्ता कुल संक्रमितको संख्या १० लाख नाघ्यो। यसअघि टेक्सासमा संक्रमितको संख्या १० लाखभन्दा धेरै पुगेको थियो।
शनिबारदेखि स्थानीय समय अनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यू जारी रहने छ। यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा बढ्न पनि सक्ने राज्यका अधिकारीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।