कम्पाला- पूर्वी अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा बुधबार भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ।
राष्ट्रपतिका विपक्षी उम्मेदवार रोबर्ट क्यागुलानीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रदर्शनमा उत्रिएका व्यक्तिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी स्वास्थ्य सेवाका निर्देशक मोजेज ब्यारुहांगाले मुलागो राष्ट्रिय अस्पतालमा उपचार गराइरहेकामध्ये १६ जनाको मृत्यु भएको जानकारी दिए। उनले मृतकमध्ये एक जना महिला रहेको बताए।
उनीहरुलाई गोली लागेको तथा अश्रुग्यासबाट श्वास फेर्न कठिनाई भएको निर्देशक मोजेजले बताए।
अस्पतालका उपनिर्देशक रोजमेरी ब्यानयीमाले अस्पतालमा ४६ जना घाइते भर्ना भएको जानकारी दिए।
देशका विभिन्न भागमा भएका प्रदर्शनमा अरु पनि कैयौं व्यक्ति घाइते भएको प्रहरीको भनाइ छ। यसर्थ घाइते र मृतकको संख्या अरु बढ्न सक्ने प्रहरी प्रवक्ता प्याट्रिक ओन्याङ्गोले बताए।
युगान्डाको राष्ट्रिय चुनाव आयोगले यसै महिनाको सुरुमा आगामी राष्ट्रपतिको चुनावमा ११ जना उम्मेदवारको नाम सार्वजनिक गरेको थियो। चुनावमा वर्तमान राष्ट्रपति योओरी मुसेभेनी पनि रहनु भएको छ। युगान्डामा सन् २०२१ मा राष्ट्रपतिको चुनाव हुँदैछ।
कोरोना भाइरसको संक्रमण बढ्नै भन्दै निर्वाचन आयोगले २०० जनाभन्दा बढी व्यक्तिलाई भेला, सभा वा जुलुसमा सहभागी नहुन अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।