वासिङटन डिसी- संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले महिलालाई रक्षामन्त्री बनाउने तयारी गरेका छन्। अमेरिकामा पहिलोपटक महिलालाई रक्षामन्त्री बनाउने तयारी थालिएको बताइएको छ। अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन्।
रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसकेकी मिसेल फ्लोरनोएले पहिलो पटक रक्षामन्त्री बन्ने अवसर प्राप्त गर्न लागेको बाइडेन निकटले बताएका छन्। राजनीतिक रुपमा मध्यमार्गी धारकी भनेर चिनिने मिसेल बाइडेनको पहिलो रोजाईमा रहेकी दाबी गरिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्याकालमा ५ जना रक्षामन्त्री फेरिइसकेका छन्। पछिल्लो पटक रक्षामन्त्री मार्क एस्परलाई राष्ट्रपति ट्रम्पले चुनाव सकिएलगत्तै गत सोमबार बर्खास्त गरेका थिए। अहिले उक्त पद रिक्त छ।
रक्षामन्त्री एस्परले विदेशबाट अमेरिकी सेना फिर्ता गर्ने तथा अमेरिकामा भएका कतिपय विरोध प्रदर्शनमा सेना परिचालन गर्ने विषयमा राष्ट्रपति ट्रम्पसँग विमति राख्दै आएका थिए।
डेमोक्रेट पार्टीले विगतदेखि नै मुलुकका रक्षा मन्त्रालय समेतका महत्वपूर्ण पदहरुमा महिलालाई पनि अवसर दिनुपर्ने भन्दै वकालत गरिरहेको छ। यसअघि सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिमा विजयी भएको भए मिसेललाई नै रक्षा मन्त्रालयको कार्यभार दिइने चर्चा थियो। अहिले फेरि मिसेलको नाम अग्रस्थानमा छ।
५९ वर्षीया मिसेलले विदेशमा अमेरिकी सैनिक सहयोगलाई अझ सुदृढ गर्नुपर्ने दृष्टिकोण राख्दै आएकी छन्। उनले सन् २००९ देखि २०१२ सम्म अमेरिकी रक्षा नीतिसम्बन्धी उपमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।
अमेरिकी सिनेटमा रिपब्लिकन र डेमोक्रेट दुवैले मिसेलको नामलाई अनुमोदन गर्ने सम्भावना छ।
तर कतिपयले गृह विभागका पूर्व प्रमुख जे जोन्सन पनि रक्षामन्त्रीका लागि सम्भावित उम्मेदवार रहेको बताइरहेका छन्। तर बाइडेनले यसअघि चुनावी प्रचारका क्रममा महिलालाई विशेष अवसर र प्राथमिकता दिने बताउँदै आएकाले पनि मिसेल नै रक्षामन्त्री हुने सम्भावना बढी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।