वासिंटन- अमेरिकी राष्ट्रपतीय चुनावमा पराजित भएका डोनाल्ड ट्रम्पको सर्मथनमा निकालिएको र्यालीमा झडप भएको छ। निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीको समर्थनमा आएका उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडप भएको हो।
वासिंटनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना मानिसलाई छुरा हानिएको अन्तराष्ट्रिय सचार माध्यमले जनाएका छन्।
सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार ट्रम्प समर्थक र्यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए।
त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए। राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जीतलाई आधारहीन र अमान्य भन्दै आएका छन्।
निर्वाचन अधिकारीहरूले भने अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भनि घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले थुप्रै प्रमुख राज्यहरूमा मतपरिणामलाई लिएर मुद्दा हालेका छन्। ती मुद्दामा उनले चुनावमा व्यापक रूपमा धाँधली भएको आरोप लगाएका छन् तर प्रमाण पेश गरेका छैनन्।
तर उनका प्रयासमा शुक्रबारमात्रै तीनवटा धक्का लागेका थिए। एरिजोना राज्यमा उनको समूहले निर्वाचनका दिन गरिएका मतदानमा मतपत्र पुनः हेरिनुपर्ने माग गर्दै दर्ता मुद्दा फिर्ता लिएका थिए।
उनका प्रतिद्वन्द्वी बाइडेनको स्पष्ट अग्रता देखिएपछि एरिजोनामा त्यस्तो मुद्दा हालिएको थियो। केही वैध मतहरू अस्वीकार गरिएको भन्ने दाबीका आधारमा त्यस्तो मुद्दा दायर गरिएको थियो।
मिशिगनमा रिपब्लिकन तर्फका दुई पर्यवेक्षकले गरेको निवेदनलाई न्यायाधीशले अस्वीकार गरेका हुन्। ती पर्यवेक्षकले वेन काउन्टीमा धाँधली भएको आरोप लगाएका थिए। पेन्सिल्भेनियामा ट्रम्पको अभियानले पत्रमार्फत् आएका मतपत्रहरूलाई अमान्य गर्न गरिएका निवेदन पनि अस्वीकार गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।