वासिंटन- पराजित भएपछि चुनावमा प्रमाण बिनाधाँधलीको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा उनका हजारौं समर्थक सडकमा आएका छन्।
वासिङ्गटन डिसीमा ट्रम्पका समर्थकहरु चुनावमा धाँधली भएको भन्ने उनको प्रमाणबिहीन आरोपको पक्षमा सडकमा आएका हुन्।
झण्डासहित आएका प्रदर्शनकारीहरुमा दक्षिण पन्थी समूह प्राउड बोइजसहितको सहभागिता थियो। केही प्रदर्शनकारीले हेलमेट तथा बुलेट प्रूफ भेस्ट समेत लगाएका थिए।
गल्फ कोर्स जानका लागि निस्किएका ट्रम्पको गाडीमा पनि समर्थकहरु घेरिन पुगेका थिए। नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएका छन्। उनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन् । ट्रम्प चार वर्ष पहिले त्यति नै मत पाएर विजयी भएका थिए। ट्रम्पले अझैसम्म हार स्वीकार गरेका छैनन्।
बाइडेन परम्परागत रुपमा रिपब्लिकनहरुको पडक रहँदै आएका जर्जिया र एरिजोनासहितका राज्यमा पनि जित हाँसिल गर्न सफल भए। प्रदर्शनकारीहरुले ‘मेक अमेरिका ग्रेट अगेन’ को सर्ट लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।