बासिंटन डिसी- आगामी कार्यकालका लागि भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जो बाइडेनले जर्जिया राज्यमा पनि जित हात पारेका छन्। डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका बाइडेनले यसअघि मत परिणाम सार्वजनिक भएका राज्यबाट नै राष्ट्रपति बन्नका लागि आवश्यक इलेक्टोरल कलेज मत प्राप्त गरिसकेका थिए।
जर्जियामा जित हासिल गरेसँगै बाइडेनका पक्षमा ३०६ इलेक्टोरल कलेज मत पुगेको बिबिसीले उल्लेख गरेको छ। जर्जियाबाट १६ इलेक्टोरल मत पाएसँगै उनका पक्षमा ३०६ मत पुगेको हो। अमेरिकामा राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल कलेज मत पुग्नु अनिवार्य हुने प्रावधान छ।
बाइडेनका प्रतिस्पर्धी तथा हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नर्थ क्यारोलिना राज्यमा अघि देखिएको बिबिसीले जनाएको छ। यो राज्यमा ट्रम्पले जिते उनका पक्षमा २३२ इलेक्टोरल मत मात्र पुग्ने छ। यो राष्ट्रपति बन्नका लागि आवश्यक मत भन्दा ३८ मत कम हो।
राष्ट्रपतिसँगै उपराष्ट्रपति पनि डेमोक्रेटिककै कमला ह्यारिस बन्ने निश्चित भइसकेको छ। आगामी जनवरी महिनामा बाइडेनले राष्ट्रपतिका रूपमा र ह्यारिसले उपराष्ट्रपतिका रूपमा सपथ लिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।