काठमाडौं–बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ८ जनाको शव निकालिएको छ। एक जना बसमुनि च्यापिएकाले अझै निकाल्न नसकिएको प्रहरीले जनाएको छ।
बैतडी र दार्चुलाको सीमा गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस बिहीबार राति खोड्पेमा दुर्घटना भएको थियो। ३४ जना घाईतेको उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको छ।
बस सडकबाट ६ सय मिटर तल भीरमा खसेको थियो। बस टुक्रा–टुक्रा भएको छ। बसमा करिब ५०जना सवार थिए। अहिलेसम्म जम्मा ४३ जनाको मात्र विवरण प्राप्त भएको छ। घाईतेहरुको राति नै उद्धार गरेर उपचारका लागि डडेल्धुरा अस्पताल पठाईएको थियो।
४ जनाको सनाखत
मृतकमध्ये बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द तथा २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्की गरी ४ जनाको मात्र सनाखत भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य पाँच मृतकको पहिचान हुन सकेको छैन। उनीहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।
दुर्घटनामा दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र काठमाडौंका रहेका मानिसहरु रहेका छन्। दुर्घटनामा घाईते हुनेमा वीरबहादुर कार्की, बिमला कुँवर, नितेश कुँवर, दिपा चन्द, बिमला बडु, अशोक जोशी, जनक धानुक, धनसिंह खत्री, जानकी सिंह, लोकेन्द्र बोहरा, अमृत कुमाल, दिनेश चौधरी, विशाल घर्तीमगर, कर्णबहादुर बिष्ट, अस्मिता बिष्ट, नरेश पन्त, बलदेवसिंह कार्की, यज्ञराज कठायत, नरेन्द्र साउद, वीरेन्द्र चौधरी, लोकेन्द्र बस्नेत, सुरज लोहार, दशरथ गिरी, नरमादेवी धामी, अमृत विक, पुरन टमटा, अजीलामा, कल्पना कार्की, कौशल साउद, वेदप्रकाश धामी, रमेश खत्री र सिम्रन सिंह रहेका छन् ।
उद्धारमा खोड्पे प्रहरी चौकी र स्थानीय व्यापारी खटिएका थिए। घाईतेको उद्धार गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारी आफैं खटिएका छन्। घटनास्थलमा विहान थप प्रहरीको टोली परिचालन गरिएको अधिकारीले बताए ।
घाइतेमध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।