काठमाडौं–सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सहरी क्षेत्रको सार्वजनिक यातायात सेवा ब्यवस्थित पारिने बताएका छन्।
बालाजु तारकेश्वर यातायात प्रालिको विशेष साधारण सभामा बोल्दै मन्त्री मानन्धरले सहरलाई व्यवस्थित बनाउन सार्वजनिक यातायातको भूमिकमा महत्वपुर्ण हुने भएकाले व्यवस्थित रुपमा सञ्चालनका लागि सरकारले काम गरिरहेको बताए। लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालकहरु समस्यामा परेको गुनासो आइरहेको र सरकारले व्यवसायीको समस्या समाधानका लागि पहल गरिरहेको उनले जानकारी दिए।
नेपालको यातायात सञ्चालन प्रणाली कमजोर रहेको बताउँदै मन्त्री मानन्धरले जनताले सहज रुपमा यात्रा गर्न पाउनेगरी सुधार गर्न पनि यातायात व्यावसायीलाई आग्रह गरे।
सरकार जनताको जीवन रक्षाका लागि हर तरहको प्रयास गरिरहेको बताउँदै उनले स्वास्थ्य सावधानीका मापदण्ड अनुसार सवारी सञ्चालन र यात्रा गर्न आग्रहसमेत गरेका छन्। मन्त्री मानन्धरले तिहारपछि निर्माणका ठूला परियोजनाले थप गति लिने बताउँदै जनताको समृद्धिको सपना केपी ओली नेतृत्वको सरकारले पुरा गरेरै छाड्ने बताए।
कार्यक्रमममा तारकेश्वर यातायात प्रालिका सचिव परशुराम लामिछानेले लकडाउनका कारण समस्यामा परेका यातायात व्यावसायीको मर्का बुझेर निर्णय गरिदिन सरकारलाई आग्रह गरे। प्रालिका अध्यक्ष मीनबहादुर मानन्धरले धरासायी बनेको सार्वजनिक यातायातको पुनरुत्थानका लागि विशेष प्याकेज आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।