काठमाडौं–काठमाडौं–बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दार्चुलाको गन्नाबाट महेन्द्रनगर हिँडेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक बिहीबार राति करिब साढे १० बजेतिर दुर्घटना भएको हो।
८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकमध्ये ७ पुरुष र २ जना महिला छन्। घाइते ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको जनाइएको छ।
बस सानो घुम्तीबाट ६ सयमिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतकहरुको सनाखत हुन बाँकी छ।
मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रनाउ अधिकारीले जानकारी दिए। दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ। बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ। बस मालिक आफैँ चालक रहेका र उनीसमेत घाइते भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।