काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको बुधबार निधन भएको छ। पचासी वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौँका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए।
विसं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मिएका उनी विसं २०४३ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए। त्यसअघि उनी शिक्षा र सञ्चार सहायक मन्त्रीसमेत बनेका थिए।
गौचन विसं २०२४ मा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए। विसं २०४८ को चुनावमा गौचन नेपाली काङ्ग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं ३ को सांसदमा निर्वाचित भएका थिए।
राजनीतिसँगै समाजसेवामा समेत उत्तिकै सक्रिय गौचन लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत बनेका थिए। विसं २००३ मा बागलुङमा स्थापित विद्यामन्दिर पुस्तकालयको उनी प्रधान संरक्षकको रूपमा थिए। जिल्लाको शैक्षिक र सामाजिक सुधारमा गौचनको अमूल्य योगदान रहेको नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले बताए। दिवङ्गत गौचनका एक छोरा र चार छोरी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।