चितवन–जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्वलक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाइएको हो।
चौध बुँदे सो योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा लागू नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताए।
आवागमन तथा जमघटले कोरोना सङ्क्रमण उच्च हुने जोखिम रहेकाले चाडपर्व मनाउँदा एकाघरमा बसेर मनाउन उनले आग्रह गरे। उनका अनुसार घरदैलोमै पुगेर खेलिने देउसीभैलोका कारण सङ्क्रमणको जोखिम भएकाले देउसीभैलो खेल्न पूर्ण रोक लगाइएको हो । पटाका, आतसबाजीलगायतका विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोग नगर्नसमेत अनुरोध गरिएको छ ।
सुरक्षा संयन्त्रलाई सक्रिय बनाउँदै एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइने उनको भनाइ छ । निर्देशन अटेर गर्नेलाई स्थलगत कारबाही गरिने प्रजिश शर्माले बताए। जुवातास, चिट्ठा खेल्नेलगायतका गतिविधिमा समेत निगरानी राखिएको उनले जानकारी दिए। कोरोनाको जोखिम बढ्दो रहेकाले सबैले घरघरमा बसेर पर्व मनाउन उनले आग्रह गरे। जिल्लामा हालसम्म पाँच हजार १० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये तीन हजार ३१४ जना निको भएर घर फर्किसकेका छन् भने ७६ जनाको मृत्यु भइसकेको छ । हाल एक हजार ६२१ सक्रिय सङ्क्रमित छन् ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।