याङ्गुन–म्यान्मारमा आज आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ। विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ।
संसदको माथिल्लो र तल्लो सदनका लागि ९० भन्दा बढी दलले चुनावमा भाग लिएका छन्। यस पटक राज्य र क्षेत्रीय तहको पनि निर्वाचन हुँदैछ ।
स्टेट काउन्सिलरका रुपमा रहेकी सुकी अहिले पनि म्यान्मारमा निकै लोकप्रिय छन्। तर उनको सरकारले पनि जनअपेक्षा अनुरुप काम गर्न सकेको छैन। म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न उनको सरकारले पर्याप्त काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।
आमनिर्वाचनमा ५० लाख नयाँ मतदातासहित ३ करोड ७० लाखभन्दा बढी मतदाता छन् । यसपटक कोरोनाभाइरस र सुरक्षा त्रास पनि रहेकाले मतदानमा सबै सहभागी हुने सम्भावना कम छ । चुनाव प्रचारका काममा पनि कोरोनाभाइरसले समस्या पारेको थियो ।
७५ वर्ष पुगिसेकी सुकीले राजधानी नेपिदमा गत महिनाको अन्त्यतिर मतदान गरिसकेकी छन्। म्यान्मारमा ६० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई अग्रिम मतदान गर्ने व्यवस्था छ। देशको सबैभन्दा ठूलो राजधानी सहर याङ्गुनका मतदान स्थल बाहिर ठूलो संख्यामा मतदाताहरु लामबद्ध देखिएका छन्।
सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले सन् २०१५ को आमनिर्वाचनमा भारी बहुमत प्राप्त गरेको थियो । यस चुनावले देशको पाँच दशकभन्दा लामो सैन्य शासनको अन्त्य गरेको थियो ।
म्यान्मारको निर्वाचन आयोगले निर्वाचनको नतिजा सोमबार बिहानदेखि सार्वजनिक गर्न थालिने जनाएको छ । देशका दुर्गम स्थानबाट मतपेटिका संकलनमा समय लाग्ने भएकाले चुनावको पूरै परिणाम सार्वजनिक गर्न एक सातासम्म लाग्ने आयोगले बताएको छ ।
यस चुनावलाई सुकी नेतृत्वको सरकारका लागि जनमतसंग्रहका रुपमा लिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।