काठमाडौं–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत विहीबार नेपाल विद्युत प्राधिकरणका नवौँ तहका अधिकृत ईश्वरीप्रसाद जयसवाललाई घुससहित पक्राउ गर्यो। हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना निर्माणका लागि रुख कटान गरी ढुवानी गर्ने काममा भुक्तानी दिनुपर्ने बेला सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिइरहेको अवस्थामा उनी पक्राउ परे।
अख्तियारको हेटौंडास्थित कार्यालयले जसयवाललाई पक्राउ गरेको थियो। उनको विषयमा विस्तृत अनुसन्धान अघि बढाइसकिएको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले बताएका छन्।
जयसवाल लामो समयदेखि यो आयोजनामा बसिरहेका थिए। विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख कुलमान घिसिङले उनलाई त्यहाँबाट सरुवा गर्न खोजे पनि ऊर्जा मन्त्रालयमार्फत् दबाब दिएर उनी यही प्रसारण लाइन आयोजनामा बसिरहेका थिए।
ऊर्जामन्त्री वर्षमान पुनको सचिवलयमा रहेका नागमणि पटेलका नातेदार जयसवाल पटेलकै कारण लामो समय आयोजनामा बसेको ऊर्जा मन्त्रालय स्रोतको भनाइ छ। उनको कार्यसम्पादनलाई लिएर प्राधिकरणको तत्कालीन नेतृत्वले पटकपटक प्रश्न उठाएको भए पनि जयसवाल शक्तिको आडमा आयोजनामा बसेका मन्त्रालय स्रोतको दावी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।