काठमाडौं–अमेरिकी राष्ट्रपति निर्वाचनमा जित नजिक पुगेका डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले कोरोना महामारी नियन्त्रणमा पहिलो कदम चाल्ने घोषणा गरेका छन्। केही बेरअघि देशवासीका नाममा सम्बोधन गर्दै उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रका विज्ञसँग सल्लाह गरिरहेको बताए। मृत्यु भइसकेकालाई जिवित गर्न नसके पनि धेरैको जीवन जोगाउन सकिने उनले उल्लेख गरे।
बाइडेनले आफू जित नजिक पुगेको भन्दै सबै मत गणना भएपछि विजयी हुने घोषणा गरे। उनले हरेक मतको सम्मान गर्दै गणना गर्न कसैले रोक्न नसक्ने बताए।
‘मेराविरुद्ध पनि मत परेका छन्। तिनको पनि सम्मान गर्ने छु। राष्ट्रपतिको रुपमा गर्ने यही हो, सबैको पक्षमा काम गर्ने छु,’ उनले भने।
उनले आफ्नो गृह राज्य डेलावेरबाट सम्बोधन गरेका हुन्। उनले भने, ‘हामी अगाडि छौँ। जित्नेछौँ।’ उनले अमेरिकाको इतिहासमै सबभन्दा धेरै मत आफ्ना पक्षमा आउने बताए।
‘२४ वर्षपछि एरिजोनामा जित्दैछौँ। २८ वर्षपछि जर्जियामा जित्दैछौँ। पेन्सिलभेनिया जस्तो महत्त्वपूर्ण राज्य जित्दैछौँ। रेकर्ड नम्बरले परिवर्तन रोजेका छन्,’ उनले भने।
मतगणना जारी रहेका बेला बाइडनले धैर्य गर्न आग्रह गरेका छन्। उनले भने, ‘हामी शान्त रहन आवश्यक छ र प्रक्रियालाई काम गर्न दिनुपर्छ, तपाईँको मत गणना हुनेछ। त्यसलाई रोक्न जति कोशिस गरिए पनि म त्यसो हुन दिने छैन।’
उनले आफूसँग पार्टीगत लडाइँमा खेर फाल्ने समय नभएको पनि बताए। बाइडन ह्वाइट हाउस पुग्नका लागि महत्त्वपूर्ण बनेका राज्यहरू पेन्सिलभेनिया, नेभाडा, एरिजोना र जोर्जियामा अग्रता लिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।