काठमाडौं–अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। मतगणना जारी रहेका राज्यहरूमा बाइडनको कम र ट्रम्पको पक्षमा बढी नतिजा आए इलेक्टोरल मत बराबर हुन जान्छ।
कुल ५३८ इलेक्टोरल मत रहेकाले दुई उम्मेदवारको २६९–२६९ मत हुने सम्भावना रहन्छ। यस्तो भयो भने को राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुन्छ भन्ने निर्णय संसद्ले गर्छ।
अमेरिकी संसद्ले सन् १७९६, सन् १८००, सन् १८२५, र सन् १८७७ मा गरी चारपटक सिर्जना हुन गएको विशेष परिस्थितिमा राष्ट्रपति छानेको थियो।
संसद्को भूमिका
कंग्रेस भनिने अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति र माथिल्लो सदन सिनेटले उपराष्ट्रपति छान्ने कानुनी व्यवस्था छ।
हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनमा प्रत्येक राज्यबाट निर्वाचित हुनेले एक मत दिन पाउँछन्।
यसको अर्थ त्यहाँ जम्मा ५० मत हुन्छ र २६ मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति चुनिन्छन्। हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याटको बहुमत छ।
सिनेट भनिने माथिल्लो सदनका १०० सदस्य सबैले मत दिएर उपराष्ट्रपति छान्छ। सिनेटमा भने रिपब्लिकनको बहुमत छ।
निर्वाचन वा संसद्ले छान्न सकेन भने के हुन्छ?
डिसेम्बर १४ मा बस्ने प्रत्येक राज्यको इलेक्टर भनिने इलेक्टोरल मत दिने प्रतिनिधिले विजयी उम्मेदवारको नाम दिन्छन्।
इलेक्टरमा दुवै दलले पठाएका पूर्वनेता वा कार्यकर्ता प्रतिनिधि हुन्छन्। कुनै तरिकाले इलेक्टरले वा मत बराबर भएको अवस्थामा संसद्ले राष्ट्रपति निर्वाचित गर्न सकेन भने कसले राष्ट्रपतिको शपथ लिने भन्ने स्पष्ट व्यवस्था कानुनमा छ।
पहिलो क्रममा तल्लो सदनको सभामुख रहेका छन्। हाल सभामुखमा डेमोक्र्याट न्यान्सी पेलोसी रहेकी छन्। दोस्रो क्रममा सिनेटको दोस्रो उच्च सदस्य हुने व्यवस्था छ।
यसअघि यस्तो अवस्था कहिल्यै नआएको भएकाले अभ्यासमा यो कसरी जान्छ भन्ने स्पष्ट छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।