काठमाडौं–गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमान जयन्तीको अवसर पारेर यही कात्तिक २४ गतेदेखि पहिलो चरणमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ।
काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला सरकार पिसीआर परीक्षणबाट समेत पन्छिएकाले पहिलो चरणमा क्षेत्र नं ८ का नागरिक लक्षित अक्सिमिटर, मास्कलगायत औषधि वितरणसँगै जनचेतनामूलक अभियान सञ्चालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए। स्वास्थ्य सामग्री वितरणसँगै चिकित्सकीय परामर्शसमेत दिइने जनाइएको छ। बिहान, दिउँसो र बेलुका तीन समूहमा चिकित्सकीय परामर्श उपलब्ध गराउन मोबाइल नम्बरसमेत सार्वजनिक गरिएको छ ।


काठमाडौँ महानगरपालिकाको वडा नं १३, १५, १९, २०, २३ र २४ एवं नागार्जुन नगरपालिका क्षेत्र नं ८ मा पर्छ । भोकालाई खाना खुवाउनेलाई समेत लखेटेर काठमाडौँ महानगरपालिकाले न्यूनतम मानवीय संवेदनासमेत देखाउन नसकेको नेता जोशीको आरोप छ । कोरोनाको महामारी सुरु भएको नौ महिना बितिसक्दा पनि सरकार नियन्त्रणमा कुनै काम नगरी आन्तरिक द्वन्द्वमा फसेको उनले बताए। जनचेतनामूलक अभियानसँगै काठमाडौँ क्षेत्र नं ८ लाई पूर्णरूपमा सही तरिकाले मास्क प्रयोग गर्ने क्षेत्रका रूपमा स्थापित गरिने लक्ष्य पनि प्रतिष्ठानले लिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष जोशीले बताए।
यसैबीच मौसम परिवर्तनसँगै सचेत रहनुपर्नेमा जनस्वास्थ्यविद्ले जोड दिएका छन्। जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले चिसो बढेसँगै मङ्सिर, पुुस र माघ महिनामा सङ्क्रमण बढ्ने भएकाले सुरक्षितरूपमा बस्न आह्वान गरेका छन्। स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा सुधा शर्माले यस वर्षको तिहार, नेपाल संवत्, छठलगायत पर्व मनाउँदा सचेत हुनुपर्ने बताएकी छन्। दूरी कायम गरी मास्क लगाएरमात्र सांस्कृतिक परम्परालाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।