काठमाडौं– भारतीय स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा सहभागी भएका छन्।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा बुधबार काठमाडौं आएका नरवणे बिहीबार नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा उपस्थित भएका हुन्। बिहीबार बिहान सैनिक मन्चको वीर स्मारकमा पुष्पगुच्छा चढाएपछि जंगी अड्डामा गएर सम्मान गारदको निरीक्षण नरवणेले गरेका थिए।
यसअघि भ्रमणमा आउने अन्य विशिष्ट सैनिक पाहुनाहरुले जस्तै नरवणेले जंगी अड्डाको प्रांगणमा ओखरको बिरुवा रोपेका थिए। त्यसपछि प्रधानसेनापति पूर्णचन्द्र थापा र नरवणेबीच शिष्टाचार भेट भएको थियो।
उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधानसेनापति थापा र नरवणेबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो।
उक्त छलफलपछि भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतिकरण गरिएको थियो।
नरवणेले नेपाली सेनालाई सहयोग स्वरुप दुई वटा फिल्ड अस्पताल स्थापनको लागि एम्बुलेन्स र उपकरण तथा अन्य स्वास्थ्य सामग्रीहरु र भेन्टिलेटरहरु समेत हस्तान्तरण गरेका थिए। प्रधानसेनापति थापाले भने नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र गौतम बुद्धको प्रतिमा हस्तारण गरेका थिए।
बिहीबार साँझ नै नरवणेलाई राष्ट्रिपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ। शुक्रबार नरवणे भारत फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।