काठमाडौं- अमेरिकाको राष्ट्रपति को होला? यो सवालको जवाफको प्रतिक्षा विश्वले गरिरहेको छ र अमेरिकाले व्यग्रताका साथ। अहिले त्यस्तो संकेत मिल्न थालेको छ, यसपल्ट राष्ट्रपतिको नतिजा सहजै घोषणा हुने छैन।
सुरुदेखि नै जो बाइडेनले अग्रता लिइरहेका छन्। तर केही महत्वपूर्ण राज्यमा गणना जारी छ। जहाँ ट्रम्प अघि छन्।
जसले जिते पनि हारजितको अन्तर निकै म हुने त देखिसकेको छ। यहीबीच डोनाल्ड ट्रम्पले आफ्नो जितको घोषणा मात्र गरेनन्, प्रतिष्पर्धीले धाँधली गरेको आरोप समेत लगाएका छन्। तर हालसम्म त्यस्तो कुनै केस देखिएको छैन। अझै लाखौं भोट गन्न बाँकी नै छ।
को जित्ला ब्याटलग्राउन्ड राज्यमा?
एरिजोनामा माहोल बाइडनका पक्षमा देखिएको छ। उनले आफ्नो जित सुनिश्चित गर्नका लागि तीन राज्य विस्कन्सिन, मिसिगन र पेन्सिलभेनिया मध्य दुई राज्यमा जित्नुपर्नेछ।
यी तिनै राज्य सन् २०१६ सम्म 'ब्लु वाल' राज्य भनिन्थ्यो। किनकि यी राज्यमा डेमोक्रेटिक पार्टीको गढ थियो। तर सन् २०१६ मा ट्रम्पले ध्वस्त पारिदिएका थिए र जित हासिल गरेका थिए।
बाइडन यी विस्कोन्सिनमा केही अघि छन् भने अरुमा पछाडि छन्। तर बाँकी मत गनिसक्दा नतिजा बाइडनका पक्षमा जाने सम्भावना कायम नै छ।
पेन्सिलभेनियामा हुलाकबाट आएका १४ लाख भन्दा बढी भोट अझै गन्न बाँकी छन्। ती गन्न अझै केही दिन लाग्न सक्छ।
ठूला सहर जस्तो मिसिगनको डेट्रायट र विस्कन्सिनको मिलवौकीमा अहिले पनि पूरा नतिजा आएको छैन। त्यहाँ नतिजा डेमोक्रेटिकका पक्षमा पनि हुन सक्छ।
जर्जिया एक वाइल्ड कार्ड हो। जहाँ पहिले ट्रम्पका लागि सहज जित देखिएको थियो। अहिले त्यहाँ प्रतिस्पर्धा कडा देखिएको छ। बाइडनको पकड रहेको एलान्टामा राज्यमा भोट काउन्टिङ पानीको पाइप फुटेका कारण रोकिएको छ। जर्जियामा डेमोक्रेटिकले जितेमा बाइडन अमेरिकी राष्ट्रपति बन्न मिडवेस्टका राज्यमा एउटा जिते पुग्छ। तर कसले जित्ला अनुमान झन् मुश्किल बनिरहेको छ।
डेमोक्रेटिक पार्टीको गढ फर्केला वा फेरि पनि ट्रम्पले ध्वस्त पार्लान्? यही प्रश्नको उत्तर नै नतिजा हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।