काठमाडौं–काठमाडौँको सडकका असंगठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान जारी छ। लकडाउनको समयदेखि नै सुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ। काठमाडौँ महानगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने भन्दै यसरी खाना नखुवाउन गरेको आग्रहलाई बेवास्ता गर्दै युवाले आज पनि उक्त अभियान जारी राखेको अभियान सञ्चालन गर्ने हाम्रो टिम नेपालका संयोजक विमल पन्तले जानकारी दिए।
विगत केही दिनदेखि हामीलाई महानगरले खाना नखुवाउन भनिरहेको छ, तर यसरी महिनौँदेखि सञ्चालन भएको अभियानलाई चाडबाडको बीचमै हामी छाड्न सक्दैनौँ’, पन्तले भने, ‘होइन भने महानगरले नै उनीहरुलाई खाना खुवाओस्।’
सोही विषयमा आज महानगरले छलफलका लागि बोलाएको पन्तले जानकारी दिए। आज बिहान पनि खुवाएको र साँझ पनि खाना खुवाउने क्रम जारी रहने उनले जानकारी दिए। उनका अनुसार झण्डै एक हजार व्यक्तिले काठमाडौँको रत्नपार्कलगायत क्षेत्रमा आएर खाना खाने गरेका छन्।
विगतमा लकडाउनका बेला धेरै भए पनि अहिले भने सङ्ख्या कम रहेको हाम्रो टिम नेपालका सदस्य उमेश बोहराले बताए। कतिपय अवस्थामा वास्तविक मजदूरभन्दा अन्य व्यक्तिले समेत खाना खाने गरेको बताइन्छ । विभिन्न संस्था आएर जतिखेर पनि खुवाउने गरेकाले पनि महानगरपालिकाले चासो दिएको बताउँदै बोहराले अभियानलाई अझै व्यवस्थित बनाएर लैजाने बताए। त्यसमा महानगर र प्रहरी सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ।
कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट मुलुकमा लकडाउन घोषणा गरेको थियो । त्यसको तीन दिनपछि १४ गतेबाट ‘हाम्रो टिम नेपाल’ र ‘हन्ड्रेस् ग्रुप्स नेपाल’ले सुरु गरेको अभियान अहिलेसम्म जारी छ । यसअघि अन्य विभिन्न संस्थाले समेत उक्त अभियान चलाए पनि यो समूहले भने नियमित गर्दै आएको छ ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।