काठमाडौँ- लोक सेवा आयोगले उपसचिव र सहसचिवको दरखास्त लिन स्थगित गरेको छ। सर्वोच्च अदालतले मंगलबार आयोगका नाममा तीन अल्पकालीन आदेश जारी गरेसँगै आयोगले अर्को सूचना जारी नभएसम्म दरखास्त स्थगित गरेको जानकारी दिएको हो।
लोकसेवाका अनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) तथा स्वास्थ्य सेवाका एघारौँ र नवौँ तहका बढुवा सूचना एवं आन्तरिक प्रतिस्पर्धा तथा खुल्ला सम्पूर्ण विज्ञापनहरूका लागि दरखास्त लिने कार्य स्थगित गरिएको हो।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बुधबार सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्म दरखास्त लिने काम स्थगन गरिएको उल्लेख छ।
सामान्य प्रशासन मन्त्रालयले पद लुकाएर माग पठाएको भन्दै वरिष्ठ उपसचिव र अधिकृतहरुले छुट्टाछुट्टै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सो रिटमाथि सुनुवाइ गर्दै मंगलबार सर्वोच्चले आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।