काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्रको विवाद छताछुल्ल भएको भन्दै व्यवस्थित छलफलका लागि बैठकको माग गरेका छन्। एकले अर्को पक्षका विरुद्ध गुटका भेला गर्दै ललकार्न थालेपछि उनीहरुले सचिवालय वा स्थायी कमिटी बैठकको माग गरेका हुन्। पार्टी विवादका विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको प्रस्ताव अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अस्वीकार गरेपछि विवाद सतहमा आएको हो।
गत शनिवार अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग पार्टी विवादका विषयमा सचिवालय बैठक छलफल गर्नुपर्ने धारणा राखेका थिए। तर, ओलीले तत्काल बैठक बस्न सम्भव नभएको भन्दै अब एउटै पार्टीमा बस्नसमेत नसक्ने अभिव्यक्ति दिएपछि पार्टी विवाद उत्कर्षमा पुगेको हो।
पार्टी विभाजनसम्मकै अवस्था पुग्ने देखेपछि देशैभर नेता–कार्यकर्ता चिन्तित भएका थिए। पार्टी विवाद साम्य पार्न दोस्रो तहका नेताहरुले दौडधुप सुरु गरेका छन्। गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङलगायत नेताहरु सक्रिय भएका छन्।
गृहमन्त्री थापाले विवाद साम्य पार्न दुई अध्यक्षलाई भेटेर चार बुँदे अवधारणासमेत दिएका थिए। यदि पार्टीमा सँगै बस्न नसक्ने अवस्था भए पार्टी कमिटीमै छलफल गरेर किनारा लाग्नु पर्ने उनको मत छ।
पार्टी विवादका विषयमा छलफल गर्न बैठक बस्न नसकेपछि गुटका भेला झाँगिदै गएका छन् भने नेताहरुले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमार्फत् व्यक्त गर्न थालेका छन्। पार्टीमा विवाद हुनु स्वाभाविक भए पनि आफ्ना सबै असन्तुष्टि पार्टी कमिटीभित्रै राख्न बैठक बस्नुपर्ने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले बताए। पार्टीभित्र देखिएका समस्या सचिवालय वा स्थायी कमिटी बैठक बोलाएर छलफल गर्नुपर्ने उनले बताए। ‘हामीले आफ्ना असन्तुष्टि गुटका भेलामा वा सामाजिक सञ्जालमा राख्नुको अर्थ छैन’ ज्ञवालीले भने, ‘पार्टीभित्र देखिएका समस्या पार्टी कमिटीभित्रै व्यवस्थित रुपमा राख्ने वातावरण बनाउनुपर्छ।’ पार्टी विवादलाई लिएर एकले अर्कोलाई सार्वजनिक रुपमा आरोप प्रत्यारोप गर्नु ठीक नभएको ज्ञवालीले बताए । पार्टीमा देखिएका समस्या पार्टी कमिटीबाट निर्णय गरी कार्यन्वयन गर्ने वातावरण बनाउनु पर्ने उनको भनाइ छ।


तर अर्का स्थायी कमिटी सदस्य मणि थापाले पार्टी विवादका विषयमा दुई अध्यक्षले सहमती गरेपछि मात्रै बैठकमा छलफल गर्नुपर्ने बताए। ‘तत्कालीन एमाले–माओवादी एकता गर्नेक्रममा कुनै कमिटीमा छलफल गरेर निर्णय गरिएको होइन। दुई अध्यक्षकै समझदारीमा एकता गरियो’ थापाले भने, ‘फेरि दुई अध्यक्षवीच एक खालको समझदारी गरेर मात्रै पार्टी कमिटी बैठक बोलाउनुपर्छ।’ यदि दुई अध्यक्षबीच समझदारी नभइ सचिवालय वा स्थायी कमिटी बैठक बोलाएर छलफल गर्न थाले विषयवस्तु थप गिजोलिने थापाले बताए।
अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीभित्र छलफल गर्नुपर्ने विषय धेरै भएकाले सचिवालय वा स्थायी कमिटी बैठक तुरुन्त बोलाउनु पर्ने बताए। पार्टी गुटका भेला बन्दगरी विभाजन गर्ने उत्तेजक अभिव्यक्ति दिन सबैले बन्द गर्नुपर्ने उनले बताए। ‘पार्टीमा देखिएका समस्या के–के हुन्? कसरी समाधान गर्ने भन्ने विषयमा सबैले आ–आफ्नो धारणा राख्छन््,’ पौडेलले भने, ‘सबैले आफूलाई लागेको धारणा राख्न पनि पार्टी सचिवालय वा स्थायी कमिटी बैठक तत्काल बस्नुप¥यो ।’ पार्टी कमिटीले गरेका निर्णय कार्यन्वयन नगर्दा समस्या उत्पन्न भएको पौडेलले भनाई छ।
तर, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पार्टी विभाजन गर्न कसैलाई छुट नभएको बताउछन्। पार्टीभित्र देखिएका विवाद हल गरी समाधानको उपाय खोजी गरिने नेम्वाङको भनाइ छ।
पार्टीमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव पेश भएपछि विवाद उत्पन्न भएको हो। त्यसको बाछिटाले संघ र अरु प्रदेशमा समेत विवाद उत्पन्न गराएको छ। यस्तै प्रधानमन्त्री ओलीले गरेको राजदूतको सिफारिस, मन्त्रिपरिषद पुनर्गठन र पर्साका मुकेश चौरसियाको हत्यालाई लिएर पार्टीमा थप विवाद चर्किएको छ।
पार्टीभित्रको विवाद समाधान गर्न दुई अध्यक्षबीच बुधबार भेट गर्ने तय भए पनि अन्तिममा स्थगित भएको छ। पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएकाले दुई अध्यक्षबीचको संवाद बुधबार रोकिएको नेताहरुले बताएका छन्। बिहीबार दुई अध्यक्षवीच संवाद भएपछि मात्रै बैठक कहिले र कहाँ बस्ने टुंगो लाग्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।