काठमाडौं– भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि बुधबार उनी काठमाडौं आइपुगेका हुन्।
विशेष विमानमार्फत् उनी त्रिभुवन विमानस्थलमा ओर्लिसकेको स्रोतले जनाएको छ।
नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न काठमाडौं आएका हुन्।
नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा नरवाणेको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट गर्नेछन्। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने नरवाणे १८औँ सेनापति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।