काठमाडौं- निजामती कर्मचारीको आधिकारिक निर्वाचनमा मतदान गर्ने कर्मचारीको सरुवा कात्तिक २५ गतेपछि गर्न नपाइने भएको छ। आधिकारिक ट्रेड युनियनको निर्वाचन आचारसंहिताअनुसार निर्वाचनमा मतदान गर्ने कर्मचारीको सरुवा कात्तिक २५ गतेपछि गर्न पाइने छैन।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव मंसिर २७ गते शनिबार हुँदैछ। त्यसैको प्रयोगजनका लागि कर्मचारी सरुवा रोकिएको हो। यसअघि असोजमा गर्ने भनिएको चुनाव मंसिर अन्तिमसम्मका लागि सारिएको थियो।
यस्तो छ निर्वाचन कार्यक्रम
प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलले जारी गरेको परिपत्रअनुसार मंसिर १० गते मतदाता नामावली प्रकाशन हुनेछ। मंसिर ११ गतेदेखि १२ गतेसम्म मतदाता नामावलीमाथि दाबी विरोध हुनेछ।
मंसिर १३ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। मंसिर १४ गते उम्मेद्वारी दर्ता हुनेछ। यस्तै मंसिर १५ गते उम्मेद्वारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन बेलुका ५ बजेसम्ममा उम्मेद्वारको नाममा दावी विरोध गर्न सकिनेछ।
कार्यालयले मंसिर १६ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नेछ। मंसिर २७ गते निर्वाचन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।