काठमाडौं–तत्कालीन माओवादीले ०५२ फागुन १ गतेदेखि जनयुद्धमा जाने घोषणा गरेपछि कृष्णबहादुर महरा भूमिगत भए। त्यसपछि परिवारलाई प्रहरी प्रशासनले सताउन थाल्यो। अनि महराको परिवारै जनयुद्धमा होमिएको थियो ।
महरापत्नी सीतालाई ०५४ साल साउन २९ गते राति नाबालक छोराछोरीसहित प्रहरीले थुनेर गिरफतार गर्न थालेपछि उनीहरु प्रहरी घेरा तोडर भाग्न सफल भएका थिए। सीता घर पछाडीको ढोकाबाट भाग्न सफल भएकी थिइन्। त्यसपछि महरा परिवार पूर्णकालीन भई १० वर्षे जनयुद्धमा होमिएको महराका सहयोगी डिल्ली मल्लले बताए। सामान्य लेखपढ गर्न सक्ने साक्षर मात्रै भए पनि सीताले पूर्व सभामुख महरालाई पारिवारिक रुपमा निक्कै सहयोग गरेकी थिईन्।
रोल्पाको गजुलस्थित धौलेगाउँका बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट ०१८ साल साउन १३ गते सीता महराको जन्म भएको थियो। सामान्य साक्षर सीताको कृष्णबहादुर महरासंग १७ वर्षको उम्मेरमा ०३५ सालमा विवाह भएको थियो । उनका २ छोरा २ छोरी छन्।
१० वर्षदेखि माईस्थनिया रोगबाट पीडित सीताको बुधबार विहान ६ः२५ बजे निधन भएको महराका सहयोगी मल्लले बताए। दसैं मनाउन पुख्र्यौली घर रोल्पाको मेबाङमा स्वास्थ्यमा समस्या देखिएपछि सीतालाई गत कात्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। दाङमा उपचार हुन नसकेपछि गत कात्तिक १४ गते नर्भिक अस्पताल ल्याइएको थियो। नर्भिकमा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि बुधबार निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।