काठमाडौं–प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपालको तीनदिने भ्रमणका लागि आज बुधबार नेपाल आउँदैछन्। नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न यहाँ आउन लागेका हुन्।
नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा नरवाणेको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट गर्नेछन्। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने नरवाणे १८औँ सेनापति हुन्।
नेपाली सेनाले नरवाणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, .लिपुलेक र लिम्पियाधुरा क्षेत्रका भूभाग भारतले राजनीतिक नक्सामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन उनको यहाँ हुने भेटघाट महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ।
नरवाणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन्। त्यसलगत्तै सैनिक मुख्यालय जङ्गीअड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ। सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी नरवाणेसँग औपचारिक भेटवार्ता गर्नेछन्।
सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित १३ औं बैठकमा भएको सहमतिअनुरुप नरवाणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ। उनको सम्मानमा बिहीबार नै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरवाणेले शुक्रबार औपचारिक भेट गर्नेछन्। नरवाणे नेतृत्वको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।