काठमाडौं- काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणको कार्ययोजना गृह मन्त्रालयमा बुझाइएको छ। ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना २०७७ नाम दिइएको सो कार्ययोजना ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल संयोजक रहेको समितिले तयार गरी मंगलबार गृहमन्त्री रामबहादुर थापालाई बुझाएको हो।
उपत्यकाको सवारी जाम कम गर्न तत्काल सडक विस्तार गर्नुपर्ने, फराकिलो बनाउनुपर्ने, सडक किनारमा रहेका वर्कसप तथा कलकारखानालाई स्थानान्तरण गर्नुपर्ने लगायतका सुझाव कार्ययोजनामा समेटिएका छन्।
तत्काल गौरीघाट प्रहरी बिटको पर्खाल भत्काई सडक पराकिलो पार्नुपर्ने, जडिबुटी पुल र राधेराधे पुलको बाँकी काम तत्काल सम्पन्न गर्नुपर्ने, जडीबुटी सूर्यविनायकसम्म सर्भिस लेनको बाँकी ट्र्याक खोल्ने र मर्मत संभार गर्ने लगायतका काम गरी सर्भिस लेन सञ्चालन गर्नुपर्ने र कोटेश्वर चोकदेखि जडिबुटी पुलसम्म दुवै तर्फको सर्भिस लेन छिटो खोल्नुपर्ने विषय कार्ययोजनामा समेटिएका छन्।
यस्तै दिर्घकालीन रुपमा उपत्यकाका अन्य साँधुरा, सवारी चाप हुने सडक र साँघुरा चोक जङ्सनहरुको अध्ययन गरी विस्तार गर्नुपर्ने, चक्रपथ सडकको बाँकी खण्ड विस्तारका लागि योजना बनाइ सम्पन्न गर्नुपर्ने योजना पनि कार्ययोजनामा समेटिएका महाशाखा प्रमुख ढकालले बताए।
बाहिरी चक्रपथको अवधारणालाई कार्यान्वयन गर्नुपर्ने, नाढुंगा सिस्नेखोला टनेल, टोखा छहरे टनेल योजना समयमै सम्पन्न गर्नुपर्ने योजना पनि समेटिएको छ ।
यसैगरी विभिन्न ठाउँमा सठक कालोपत्रे गर्नुपर्ने आवश्यकता पनि समितिले औँल्याएको छ। पकनाजोल-क्षेत्रपाटी सडक, ग्वार्को-मंगलबजार सडक, गौशाला-चाबहिल-बौद्ध, मंगलबजार -सुन्धारा, जोरपाटी-सुन्दरीजल र लगनखेल-प्रयाग पोखरी सडक कालोपत्रे गर्नुपर्ने सुझाव समितिले दिएको छ।
यस्तै जोरपाटी-साँखु, हात्तीवन-गोदावरी, कमलविनायक-नगरकोट, इमाडोल सिद्धिपुर-लुभु , सानो टिमी-बाख्रा बजार र नख्खु दोबाटो-बागडोल सर्भिस लेन पनि कालोपत्रे गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ। समितिले सडक किनारामा स्थापना भएका पेट्रोल पम्प र वर्कसपहरु पनि स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको छ।
यसैगरी माइतीघर-तीनकुने, सूर्यविनायक-कोटेश्वर-कलंकी सडकलार्य नमुना सडकका रुपमा विस्तार गरी पूर्ण सडक पूर्वाधार र आधुनिक प्रविधियुक्त सडकको रुपमा विस्तार गर्ने र प्रत्येक स्थानीयतहले तीन वटा सकलाई नमुना सडकको रुपमा विकास गर्नुपर्न गरी कार्ययोजना निर्माण भएको छ।
दिर्घकालीन रुपमा उपत्यकाका सडक फराकिला बनाएर नमुना सडकका रुपमा विकास गर्ने, प्रत्येक वडामा कम्तीमा एउटा सडकलाई नमुना सडकको रुपमा विकास गर्ने र सरकारी स्तरबाट नै ट्रफिक विद्यालय सञ्चालन गरी ट्राफिक र सडक नियम सम्बन्धि प्रशिक्षण दिनुपर्ने सुझाव पनि कार्ययोजनामा समेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।