काठमाडौं– नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ। उद्योगीसमेत रहेका केसीको गएराति निधन भएको हो।
प्रतिनिधिसभा सदस्य केसीको पोखरास्थित घरमै मृत्यु भएको हो। ६५ वर्षीय केसी मिर्गौलाका रोगी थिए। साथै, सुगर र उच्चरक्तचाप विरामीसमेत थिए। दिवंगत केसीको विहान १० बजे दाहसंस्कार गरिने जनाइएकाे छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा लामो समयसम्म राजनीति गरेका केसी तीन वर्ष अघि कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेसले उनलाई कास्कीबाट समानुपातिक सांसद बनाएको थियो।
पोखरामा प्रतिष्ठित उद्योगीका रुपमा परिचित केसीकाे चाउचाउ उद्योग हिमश्री फुड सञ्चालनमा छ। केसीले जलविद्युतका क्षेत्रमा पनि लगानी गरेका छन्। केसी माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष हुन्।
केसी पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्च पनि थिए। पहिलो संविधानसभामा राप्रपाबाट उनी सांसद बनेका थिए।
केसीका श्रीमती र तीन छोरा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।