हेल्प पब्लिकेशन प्रालिले विगत ७ वर्षदेखि ‘स्वास्थ्य खबरपत्रिका’ प्रकाशन गर्दै आएको छ । पछिल्लो ४ वर्षदेखि हामी ‘स्वास्थ्यखबर डटकम’ अनलाइन संस्करणमार्फत पनि तपाईंहरुसँग जोडिएका छौं।
तपाईहरुकै विश्वास र हौसलाका कारण आजदेखि हामीले मूलधारको खोजमूलक अनलाइन ‘नेपाललाइभ डटकम’ सुरु गरेका छौं । यो अनलाइनमार्फत हामी मुख्यरुपमा नीतिगत तहमा बहस गर्नेछौं । जनहितका नीतिहरुलाई प्रोत्साहन गर्नेछौं । तर, स्वार्थ समूहको प्रभावमा हुने तमाम छली गतिविधि हाम्रो निशानामा हुनेछन् । हामी खबर मात्रै नभएर खबरहरुका आन्तरिक कारण र असर खोतल्नेछौं।
पत्रकारिता तटस्थ र निष्पक्ष हुँदैन । समावेशी लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, नागरिकका मौलिक हक, मानवअधिकार, सुशासन, जनजीविकाका सवाल, अल्पसंख्यक र सीमान्तकृतका हकमा हाम्रो स्पष्ट पक्षधरता रहनेछ । अन्य विषयमा पनि हामी स्वतन्त्र र विश्वसनीय समाचार तथा विचार पस्कनेछौं।
राजनीतिक दलका दस्तावेज तथा सभाहरुमा व्यक्त हुने राष्ट्रवादभन्दा पनि लिपुलेक र सुस्ता, दक्षिण र उत्तरका सीमामा बस्ने आम नेपालीको राष्ट्रियताप्रतिको चासो र चिन्ता हाम्रो प्रमुख सरोकार हुनेछन् । नेपालले भोगिरहेको यो समयको प्रत्यक्ष तस्बिर पाठकहरुमाझ प्रस्तुत गर्नेछौं।
नेपालले अहिलेसम्म हिँडेर आएको बाटो, अहिले उभिएको ठाउँ र भावी मार्गका बारेमा पनि हामी बहस गर्नेछौं । विगतका आन्दोलन, वर्तमानका यथोचित संघर्ष र नयाँ नेपालको सपनाप्रति हाम्रो सूक्ष्म दृष्टि रहनेछ ।
आवाजविहीनहरुले यस अनलाइनलाई आफ्नो आवाजको वाहकको रुपमा विश्वास गर्नसक्ने बनाउनु हाम्रो दायित्व हुनेछ । हिमाल, पहाड र मधेसका सीमान्तकृतहरुका आवाजलाई सिंहदरबारसम्म पु¥याउने सेतुको रुपमा काम गर्ने हाम्रो प्रयास रहनेछ।
मुलुकको अर्थतन्त्रमा टेवा पुग्नेगरी आर्थिक विकासका उपाय पहिल्याउने यात्रामा हाम्रो साथ रहनेछ । हामी शासनमा सुशासन र मुलुकको समृद्धितर्फको यात्रामा सहयोगी बन्न चाहन्छौं । त्यसका लागि शासन व्यवस्थाका नीतिगत भ्रष्टाचारदेखि सरकारको तल्लो तहसम्मका अनियमितता उजागार गर्न हामी चुक्ने छैनौं । मूलतः हामी खोजमूलक समाचारमा बढी केन्द्रित हुनेछौं।
अन्तर्राष्ट्रिय घटनाक्रम र त्यसले नेपालतिर छर्ने बाछिटाहरुमाथि पनि हाम्रो निगरानी हुनेछ । प्रवासमा रहेका नेपालीका भोगाइ र सपनाको साझा चौतारीको रुपमा प्रतिविम्बित हुने हाम्रो प्रयास रहनेछ । स्वस्थ मनोरञ्जन, खेल गतिविधि, श्रव्यदृश्य, साहित्य–सिर्जना हाम्रो नियमित सामग्री हुनेछन् । यसले नेपाललाइभलाई एउटा पूर्ण र सम्पूर्ण अनलाइनको रुपमा स्थापित गर्नेछ भन्ने हाम्रो विश्वास छ । पाठकहरुको पहिलो रोजाइमा पर्ने हाम्रो प्रयास रहनेछ।
जवाफदेही बिनाको स्वतन्त्रताको अभ्यास हामीबाट हुने छैन । हामी पहिलोभन्दा पनि विश्वासिलो बन्ने प्रयत्न गर्नेछौं । आजको समयमा सञ्चार क्षेत्रभित्र पनि व्यापक शुद्धीकरण आवश्यक रहेको हाम्रो ठम्याइ छ । पत्रकारिताभित्रकै विसंगति पनि हामी उजागर गर्नेछौं, एकैखाले पेशाकर्मी भनेर आँखा चिम्लने छैनौं । व्यावसायिक र मर्यादित पत्रकारिताको पक्षमा हामी दृढ रहनेछौं।
तपाईं पाठकबाट हामीमाथि निरन्तर निगरानी रहनेछ भन्ने हाम्रो अपेक्षा छ । तपाईंको सल्लाह, सुझाव, रचनात्मक आलोचना र निरन्तरको खबरदारी हाम्रा लागि अमूल्य रहनेछ । तपाईं सबैको साथ र सहयोगले हामी छिटै एउटा विश्वसनीय अनलाइनको रुपमा स्थापित हुनेछौं भन्ने विश्वास लिएका छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।