बागलुङ–नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो।
प्रशासनले सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा लकडाउन गर्ने, तिहारका अवसरमा खेलिने देउसीभैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहेक घरबाहिर नआउन आग्रह गरेको छ ।
कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ भने देउसीभैलो खेल्दा भिडभाड हुने भएकाले जिल्लाभर देउसीभैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।
‘सोमबार बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यक बाहेकका सेवा, बजार र यातायात बन्द गर्ने र जिल्लाभर देउसीभैलो खेल्न नपाउने निर्णय गरेको छ’, प्रजिअ न्यौपानले भने, ‘समुदायमा कोरोना फैलिएको क्षेत्रमा लकडाउन र अन्य स्थानमा भिडभाड बढी हुन सक्ने भन्दै देउसीभैलो खेल्न रोक लगाइएको हो ।’
यस्तै बागलुङ बजार क्षेत्रका बैंक तथा वित्तीय संस्था पनि एक साता बन्द हुने भएका छन् । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घको आग्रहमा बागलुङ बजार क्षेत्रमा लकडाउन र अन्य स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। लकडाउनको समयमा अत्यावश्यक सेवा भने सञ्चालनमा रहने छन् ।
प्रशासनले राष्ट्रिय राजमार्ग भने बागलुङ बजारमा यात्रु झार्न र चढ्न नपाइने गरी सञ्चालन गरिने जनाएको छ । बागलुङ बजारका केही व्यवसायी, राजनीतिकर्मी, कर्मचारी, जनप्रतिनिधि र पत्रकारमा कोरोना सङ्क्रमण देखिएपछि बाध्य भएर लकडाउन गर्न लागिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।