काठमाडौं- काठमाडौं महानगरले खुलामञ्चलगायत काठमाडौंका विभिन्न सार्वजनिक स्थलमा केही व्यक्ति र समूहले गर्दै आएको निःशुल्क खाना वितरणमा रोक लगाएको छ।
कोभिड-- १९ महामारीका कारण जागिर गुमाएका र बिहान बेलुका छाक टार्न समस्या भएका व्यक्तिहरुलाई हन्ड्रेट ग्रुपलगायत केही समूह र व्यक्तिहरुले समेत निःशुल्क रुपमा खाना वितरण गर्दै आएका थिए। तर काठमाडौं महानगरपालिको त्यसमा रोक लगाएपछि सोमबार खुलामन्चमा झडपको स्थितिसमेत पैदा भएको छ।
काठमाडौं महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीका अनुसार निःशुल्क रुपमा वितरण हुँदै आएका खानालाई थप व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो। ‘महानगरपालिकाले आफुले संचालन गरेको मानव सेवा आश्रमले सहयोगापेक्षिलाई सेवा दिँदै आएको छ। कसैले सित्तैमा खाना बाँढ्छ भने सार्वजनिक स्थलमा होइन।
कुनै पार्टी प्यालेस, होटल वा रेस्टुरेन्टमा लगेर खुवाउन सक्छन।’ ज्ञवालीले भने। ‘सार्वजनिक स्थानमा जो पनि गएर खाईदिने भए। फोहोर भयो। त्यसमाथि महानगरपालिकाले भोकै कोहि पर्दैनन भोकले कोहि मर्दैनन भनेर मानव सेवा आश्रममार्फत सहयोगापेक्षीहरुलाई सहयोग गर्दै आएको छ।’
कस्तो व्यक्तिलाई कति समयसम्म खाना बाँढ्ने भन्ने नै एकिन नभएपछि महानगरले हस्तक्षेप गरेको ज्ञवालीको भनाइ छ। ‘त्यहाँ कहिलेसम्म खाना बाँढ्ने? डेटलाईन कहिलेसम्म हो? र कस्तो व्यक्तिलाई खाना बाँढ्ने भनेर मापदण्ड पनि छैन’ उनले भने।
महानगरपालिकाले निःशुल्क खाना वितरणमा रोक लगाएपछि सोमबार खुलामञ्चका केही झडपको स्थीतिसमेत पैदा भएको छ। खाना वितरण गर्न पुगेका समूहलाई महानगर प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको ज्ञवालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।