काठमाडौं–विश्वका संसदहरुको साझा मञ्च अन्तर व्यवस्थापिका संघ (आईपीयु) को गभर्निङ काउन्सीलको २०६ औं अधिवेशन सुरु भएको छ। नेपाली समय अनुसार गएराति सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्ने छ।
जारी अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले सहभागिता जनाएका छन्। यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रुपमा सहभागी छन्।
गभर्निङ काउन्सीलको यो अधिवेशनले आईपीयुको नयाँ अध्यक्ष निर्वाचित गर्ने छ । हरेक गभर्निङ काउन्सील सदस्यले गोप्य मतदानमार्फत् अध्यक्षको चयन गर्ने छन् । मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ। अधिवेशनमा नेपालसहित १६२ देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
यो अधिवेशनमा आईपीयुको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उम्मेदवारी दिएका छन्। आईपीयु अध्यक्षको कार्यकाल तीन वर्षको हुने छ।
यसैबीच नेपालबाट आइपीयुको गभर्निङ काउन्सीलको २०६ औं अधिवेशनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटासहित प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले आईपीयु अध्यक्ष चयनका लागि गोप्य मतदान गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।