काठमाडौं- गाडी ग्यारेजमा थन्क्याएर सर्वसाधारणलाई दु:ख दिने याताायात व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिएलगत्तै देशका विभिन्न ठाउँबाट व्यवसायीहरु पक्राउ पर्न थालेका छन्।
सिन्डिकेट कायम राख्न माग गर्दै आन्दोलन गरी गाडी ग्यारेजमा थन्क्याउने व्यवसायीलाई पक्राउ गरी कारबाही गर्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई मन्त्री थापाले आज निर्देशन दिएका थिए।
मन्त्रीको निर्देशनपछि पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडेलाई बुटवलको ट्राफिक चोकबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए। अन्य संघ र समितिका पदाधिकारीहरुको पनि खोजी कार्य भइरहेको एसपी ज्ञवालीले बताए।
यस्तै रुपन्देहीबाट पनि व्यवसायीहरु पक्राउ परेका छन्। मकवानपुरमा पनि तीन जना यातायात व्यवसायीहरु पक्राउ परेका छन्। ७७ जिल्लाकै प्रहरी कार्यालयले आन्दोलन गर्ने यातायात व्यवसायी पक्राउ गर्न टोली परिचालन गरेको छ।
सर्वसाधारणको दैनिक जीवनका अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हडताल गर्न नपाउने भन्दै गृह मन्त्रालयले बैसाख ११ गते जारी गरेको राजपत्रमा यातायात क्षेत्र लगायत १८ सेवामा अत्यावश्यक सेवा ऐन अन्तर्गत हडताल र बन्द निषेध क्षेत्र घोषणा गरेको छ। अत्यावश्यकीय वस्तुमा हडताल गर्ने व्यवसायीलाई तत्काल पक्राउ गरी सरकारले थुनामा राख्न सक्नेछ भने उनीहरुलाई ६ महिनादेखि ५ वर्षसम्म जेल सजाय हुन सक्छ।
यातायात व्यवसायीहरुले शुक्रबार देशभरि गाडी ग्यारेजमा थन्क्याएका हुन्। उनीहरुले २७ गतेदेखि अनिश्चितकालीन हडतालको तयारी गरेका छन्। यातायात समिति खारेज गर्ने र देशभर रुट खुला गरी ल्याइएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजी उनीहरुको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।